डब्लूएचओ नेपाल प्रमुख डा. राजेशको बिदाइ


काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले आफ्नो पाँचवर्षे सफल कार्यकाल पूरा गरी बिदाइ हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले एक समारोहमार्फत डा. पाण्डवलाई बिदाइ गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि उहाँले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री गौतमका अनुसार डा. पाण्डवले नेपालमा खोप कभरेज विस्तारदेखि नसर्ने रोग रोकथाम, स्वास्थ्य प्रणाली मजबुतीकरण र सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले भन्नुभयो– ‘नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदानका लागि सरकार तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

डा. पाण्डव नेपाल प्रमुख रहेका बेला विश्वभर कोभिड–१९ महामारी फैलिएको थियो । मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार महामारीको कठिन परिस्थितिमा पनि उहाँको सरकारसँगको सहकार्य र समन्वय प्रभावकारी रहेको र कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताइयो । उहाँको कार्यकाल समाप्त भएपछि डा. पाण्डव अब श्रीलंकाका लागि डब्लूएचओ प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

डब्लूएचओ नेपालमा नयाँ प्रमुख को आउने भन्ने विषय भने अझै अनिश्चित छ । डब्लूएचओले अहिलेसम्म सरकारलाई कुनै नाम पठाएको छैन, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्नुहुन्छ । उहाँका अनुसार डब्लूएचओले प्रायः तीनदेखि पाँच जना उम्मेदवारको नाम नेपाल सरकारलाई सिफारिस गर्छ, जसको व्यक्तिगत विवरण र अनुभवको मूल्यांकन गरेर सरकारले एक जना प्रमुख टुंगो लगाउने गर्दछ । ‘अहिलेसम्म कसैको नाम आएको छैन’, डा. बुढाथोकी भन्नुहुन्छ– ‘डब्लूएचओबाट नाम पठाउन ढिलाइ भएकैले नयाँ प्रमुख आउन करिब एकदेखि डेढ महिना लाग्न सक्छ, ।’