काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले दृष्टिविहीन क्रिकेट संघ (क्याब) लाई १० लाख नगदले पुरस्कृत गरेको छ । हालै पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा नेपाली उपविजेता भएपछि क्यानले क्याबलाई सो रकमले पुरस्कृत गरिएको हो । कीर्तिपुरस्थित त्रिवि रंगशालामा लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीचको खेल हुनअघि क्यानका सचिव पारस खड्काले क्याबलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
श्रीलंकामा गत आइतबार भएको फाइनल खेलमा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोली ३ विकेटले पराजित भएको थियो । फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपालले पहिले ब्याटिङ गरेर १ सय १५ रनको विजयी लक्ष्य दिएको थियो । जुन लक्ष्य भारतले ७ विकेट सुरक्षित राख्दै प्राप्त गरेपछि नेपाल उपविजेतामै सीमित भयो ।
यो दृष्टिविहीन महिला टी–२० क्रिकेटमा पहिलो विश्वकप हो । श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजित भएको यस प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता थियो । जसमा नेपाल, अस्टे«लिया, अमेरिका, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गरेका थिए ।
दृष्टिविहीन क्रिकेट खेल्ने तरिका
दृष्टिविहीन क्रिकेट खेल सेतो प्लास्टिकको बलबाट खेलिने गर्दछ । यस बलभित्र मेटल बेयरिङ भरिएको हुन्छ । जसले गर्दा बलरले बल ब्याटरतिर फ्याँक्दा त्यसमा आवाज आउने गर्दछ । जसले गर्दा खेलाडीले त्यो आवाज सुनेपछि बललाई प्रहार गर्दछ । मुख्य कुरा बलरले ब्याटरलाई के तपाईं तयार हुनुहुन्छ भनेर सोध्नुपर्दछ । फेरि बल फ्याँक्ने समयमा प्ले भनेर कराउनु पर्दछ ।
दृष्टिविहीन क्रिकेटमा नियमित क्रिकेटमा झैं ११ खेलाडीले नै खेल्ने गर्दछ ।
तर, यसमा कम्तीमा चार खेलाडी पूरै नेत्रहीन हुनुपर्ने प्रावधान रहेको छ । खेलमा निष्पक्षता बनाउनका लागि सबै खेलाडीको आँखामा पट्टी बाँध्नु पनि अनिवार्य हुन्छ ।
यस दृष्टिविहीन क्रिकेटका लागि खेलाडीले हेर्ने क्षमताको आधारमा वर्गीकृत गरिएको हुन्छ । बीटु (न्यून दृष्टिविहीन) श्रेणीका खेलाडीका लागि यो दूरी २ मिटर हुन्छ भने बीथ्री (अल्प दृष्टिविहीन) श्रेणीका लागि ६ मिटर दूरी हुन्छ । बीटुमा भएका खेलाडी केही कम देखिने र बीथ्रीमा पर्ने खेलाडीले त्योभन्दा बढी देखिने हुन्छन् ।
हरेक टोलीमा अधिकतम आठ बीवान (पूर्ण दृष्टिविहीन) खेलाडी हुन सक्दछन् । बीवानमा पूरै नेत्रहीन भएका खेलाडीलाई राखिन्छ । तर, बीवानका खेलाडीका लागि बोनस पनि दिइन्छ । उनीहरूले बनाएको रनलाई दोब्बरमा गणना गरिन्छ ।











प्रतिक्रिया