संसद् पुनःस्थापनाका लागि सर्वोच्चमा रिटसहित निर्वाचनको तयारी

940
Shares

काठमाडौं ।

नेकपा (एमाले) ले एकातिर प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ भने अर्कोतिर निर्वाचन आयोगमा दल दर्ता पनि गराएको छ ।

यही फागुण २१ गते तय निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराउने र संसद् पुनःस्थापना माग गर्दै सर्वोच्चमा रिट हाल्ने परस्पर विरोधाभाषको कार्य मंगलवार एक साथ गरेको हो । यसलाई प्रतिनिधिसभा पुनःस्थापना भए ठीक नभए निर्वाचनमा जाने नीति एमाले अख्तियार गरेको रूपमा लिइएको छ ।

विघटित प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च अदालत पुगेर प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट निवेदन दिनुभएको थियो । रिट दर्ता गरेपछि बर्तौलाले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापनाको माग राखिएको बताउनुभयो ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव भीष्म अधिकारीले निर्वाचन आयोग पुगेर निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुभएको थियो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेपछि आचार्यले चुनाव जहिले भए तापनि दल दर्ता गर्न आवश्यक रहेको र यसअन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको बताउनुभयो ।

निर्वाचनको विरोध गर्दै आएको पार्टीले निर्वाचन प्रयोजनको लागि दल दर्ता गराएसँगै सरकारले निर्वाचनको वातावरण बन्दै गएको रूपमा लिन थालेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताउनुभयो ।

निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशङ्का नगर्न आग्रह गर्दै उहाँले मंगलवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा भन्नुभयो– ‘प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरूसमेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको छ ।’ मतदाता नामावली सङ्कलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिइसकेको र सुरक्षा योजनासमेत तयार भइसकेको मन्त्री खरेलले बताउनुभयो । यद्यपि, एमालेका नेताहरूले मुख्य बटमलाइन प्रतिनिधिसभा पुनःस्थापना नै रहेको सार्वजनिक रूपमा अभिव्यक्ति गर्दै आएका छन् ।

नेकपा (एमाले) र नेपाली कांग्रेसले दल दर्ता गरेसँगै मंगलवारसम्ममा दल दर्ता गराउनेको संख्या ८० पुगेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । आयोगले आज बुधबारसम्ममा प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले तयार गरेको निर्वाचनको कार्यक्रमअनुसार मंसिर १० गतेसम्मका लागि निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्नेगरी समय तोकिएको थियो । उहाँले बाँकी सबै राजनीतिक दलहरूलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गर्नुभयो ।

‘बुधबार कार्यालयभित्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय बाँकी छ । बाँकी समयमा अरू बाँकी दलहरू पनि निर्वाचन प्रयोजनका लागि दर्ता भएर प्रतिस्पर्धामा भाग लिने अपेक्षा निर्वाचन आयोगले गरेको छ’ –उहाँले भन्नुभयो । आयोगका अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको छ ।

उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताउनुभयो । आयोगले पनि निर्वाचनको पूर्वतयारीको ६० प्रतिशत बढी कार्य सकिएको जनाएको छ । आगामी माघ ६ गते मनोनयन दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।

संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ मा आयोगमा दर्ता भएका दलले सम्बन्धित निर्वाचनमा भाग लिन पुनः दल दर्ता गराउनुपर्ने उल्लेख छ ।

कांग्रेस पनि संसद् पुनःस्थापनाको पक्षमा उभिँदै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले औपचारिक रूपमा फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरे पनि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको तयारी पनि सँगसँगै गरिरहेको पाइएको छ ।
कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि तयारीको काम भइरहेको बताउनुभयो ।

‘यसबारे हामी एकदुई दिनमै टुंगोमा पुग्छौँ । शीर्ष नेताहरूसँग पनि छलफल गरिरहेका छौँ । उहाँहरूले पनि हतार नगरौँ भन्नुभएको छ,’ घिमिरेले भन्नुभयो– ‘फागुन २१ गतेका लागि चुनाव त तोकिएको छ । जताबाट हेरे पनि अध्ययन र विश्लेषण गर्दा चुनाव हुनेमा शंका छ । वातावरण नबनिसकेको त साँचो हो नि ।

यसरी नै अघि बढ्दै गर्दा चुनाव भएन भने के गर्ने भन्ने तयारी त कांग्रेसले गर्नै प¥यो नि । यसका लागि कांग्रेस चुप लागेर बस्ने भन्ने हुँदैन । कानुनी प्रक्रिया केके छन् त्यो त सुरु गर्नुप¥यो नि ।’

प्रतिनिधिसभा विघटनअघिको पहिलो दल कांग्रेसले मुलुकलाई दुर्घटनाबाट बचाउन आफ्नो तयारी गरिरहेको घिमिरेले बताउनुभयो । ‘चुनाव भएन भने के गर्ने भन्ने तयारीमा कांग्रेसजस्तो मुलुक हाँक्दै आएको दल बेलैमा लागिहाल्छ त्यसैले प्रतिनिधिसभा पुनःस्थापनाको कानुनी बाटोमा पनि अघि बढ्छ’ –घिमिरेले भन्नुभयो ।