निर्वाचन फागुन २१ मै- मन्त्री खरेल

376
Shares

दोलखा। 

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तोकिएकै मिति फागुन २१ मा निर्वाचन हुने बताएका छन्  । राजनीतिक दलहरु पनि तयार छन्, निर्वाचन आयोगले पनि सबै तयारी गरिसकेको छ त्यसैले तोकिएकै मितिमा निर्वाचन हुने कुरामा कुनै आशङ्का छैन– मन्त्री खरेलले भने । 

नेपाल पत्रकार महासंघ दोलखा शाखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्तव्य व्यक्त गर्दै  सञ्चार मन्त्री खरेलले मतदाता नामावलिमा नाम दर्ता गर्ने काम उत्सवको रुपमा अघि बढेको समेत बताए । मन्त्री खरेलले भने– मतदाता नामावलिमा नाम दर्ता गर्नेकाम उत्सवको रुपमा अघि बढेको छ, आठ लाख भन्दा बढी मतदाता थपिएका छन् । 

मन्त्री खरेलले कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्न नभनेको र सरकार सुरक्षाको लागि सहयोगी रहेकोले निर्वाचन हुने कुरामा कुनै आशङ्का नरहेको बताए । 

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दोलखा आएका मन्त्री खरेल स्वागत तथा सम्मानबाट उत्साहित बनेका थिए । उनले दोलखाको विकासको लागि पर्यटनको विकास महत्त्वपूर्ण रहेको उल्लेख गर्दै  यसको नेतृत्व स्वतन्त्र संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले लिनुपर्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रमु जिरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, जिल्ला सचिव सुजन काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

आइतबार गृह जिल्ला दोलखा आएका मन्त्री खरेलले जिल्ला स्थित कार्यालय प्रमुखहरुसंग भेटघाट गरेका थिए । मन्त्री खरेल आफूले अध्ययन गरेको दोलखाको कालिञ्चोक गाउँपालिका स्थित कालिनाग माध्यामिक विद्यालय सुनखानीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा समेत सहभागी भएका थिए ।