लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ सुरु 


काठमाडौँ। 

महिला तथा बालिकामाथि हुने लिङ्गमा आधारित हिंसा सार्वजनिक स्वास्थ्य र मानव अधिकारको गम्भीर संकटका रूपमा पुनः वैश्विक बहसको केन्द्रमा आएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२५ सुरु हुने क्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसियाका प्रभारी अधिकृत डा. क्याथरिना बोहेमले दक्षिण–पूर्वी एसिया क्षेत्रमा महिला हिंसाका सबै सूचकहरू चिन्ताजनक रूपमा उच्च रहेको बताउँदै तिनलाई रोक्न सदस्य राष्ट्रहरूले तत्काल प्रभावकारी नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् ।

डब्लुएचओका पछिल्ला अनुमान अनुसार दक्षिण–पूर्वी एसिया क्षेत्रमा जीवनभर घनिष्ठ साझेदार हिंसा भोग्ने महिलाको दर ३१.५ प्रतिशत पुगेको छ, जुन विश्वका सबै डल्बुएचओ क्षेत्रहरूमध्ये उच्चतममध्ये एक हो । यस्तै, डिजिटल माध्यममार्फत हुने हिंसा—जसमध्ये साइबरस्टकिङ, छवि–आधारित दुव्र्यवहार, अनलाइन उत्पीडन, ट्रोलिङ र व्यक्तिगत विवरण सार्बजनिक गर्ने कार्य (डक्सिङ) भयावह गतिमा बढिरहेको डा. बोहेमले बताए। 

युएन ओमेनको विश्लेषणले विश्वका १६ प्रतिशतदेखि ५८ प्रतिशत महिला तथा किशोरीहरू कम्तीमा एक प्रकारको अनलाइन वा प्रविधि–सहयोगी हिंसाको अनुभव गरिसकेको पुष्टि गरेको छ । भारत, श्रीलंका र मलेसियाबाट प्राप्त तथ्याङ्कले कोभिड–१९ लकडाउनका समयमा महिलालाई लक्षित अनलाइन घृणात्मक सामग्री १६८ प्रतिशतसम्म बढेको देखाएको छ । अन्तर–संसदीय संघ र संयुक्त राष्ट्र महिलाको संयुक्त सर्वेक्षणले एसिया–प्रशान्त क्षेत्रका ६० प्रतिशत महिला सांसदहरूले अनलाइन लैङ्गिक हिंसा भोगेको बताएको तथ्य पनि उनले उल्लेख गरे।

डा. बोहेमका अनुसार अनलाइन तथा अफलाइन हिंसाका प्रभावहरू मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र सामाजिक सहभागितासम्म गहिरो असर पार्ने खालका छन् । चिन्ता, डिप्रेसन, निद्रा समस्यादेखि आघातपछिको तनाव र यौन तथा प्रजनन स्वास्थ्यमा पर्ने दीर्घकालीन असरहरूले महिलाको सुरक्षित र सम्मानजनक जीवनमा गम्भीर चुनौती खडा गर्ने बताइन्छ । “यी हानिहरू वास्तविक, मापनयोग्य र रोकथाम गर्न सकिने छन् । सबै प्रकारका हिंसालाई अस्वीकार गर्दै समाज, सरकार र डिजिटल प्लेटफर्महरूले संयुक्त रूपमा जिम्मेवारी लिनुपर्छ,” डा. बोहेमले भने ।

यस वर्षको १६ दिने अभियान ‘महिला तथा बालिकाहरू विरुद्ध डिजिटल हिंसा अन्त्य गर्नुहोस भन्ने मुल नारामा सबैका लागि सुरक्षित ठाउँहरू’ भन्ने विषयवस्तुलाई लिएर मनाइँदैछ । विषयवस्तुले डिजिटल जगतमा बढ्दै गएको जोखिमलाई केन्द्रमा राख्दै अनलाइन हिंसालाई पनि प्रत्यक्ष हिंसाकै रूप मान्नुपर्ने सन्देश दिन्छ । बोहेमले विज्ञप्तीमा भनेका छन् , “जसरी हामी अफलाइन क्षेत्रमा महिला तथा बालिकाको स्वास्थ्य र अधिकार सुरक्षित गर्न काम गर्छौं, उस्तै प्रतिबद्धता अनलाइन क्षेत्रमा पनि देखिनुपर्छ । डिजिटल वातावरण डर, हानि र असमानताबाट मुक्त हुनुपर्छ ।”

डब्लुएचओले २०२५–२०२८ का लागि तयार पारेको १४औँ सामान्य कार्य कार्यक्रमले स्वास्थ्य सेवा पहुँच, वित्तीय सुरक्षा र लैङ्गिक असमानता न्यूनीकरणलाई प्राथमिक रणनीतिक उद्देश्यको रूपमा लिएको छ । दक्षिण–पूर्वी एसियाका देशहरूले अपनाएको ‘क्षेत्रीय रोडम्याप’ले पनि महिला तथा बालिकाको सुरक्षितता, स्वास्थ्य र समान अवसरमा लगानी बढाउन सदस्य राष्ट्रहरूलाई आह्वान गरेको छ ।

संगठनले हालै ‘महिलाहरूको सम्मान – महिला विरुद्ध हिंसा रोकथाम’ ढाँचाको दोस्रो संस्करण सार्वजनिक गरेको छ, जसले नीति निर्माता र सरकारी निकायहरूलाई जोखिम कारक पहिचानदेखि दीर्घकालीन रोकथामी नीतिसम्मको स्पष्ट मार्गनिर्देशन प्रदान गर्छ । डा. बोहेमले राष्ट्रहरूलाई ‘ लैङ्गिक हिंसा’ अन्त्यका लागि पाँच आधारभूत प्रतिबद्धता अपनाउन आग्रह गरेका छन्। 

—डिजिटल सुरक्षा र कल्याणबारे नियमित रूपमा कुरा गर्ने वातावरण बनाउने।

–  स्वास्थ्य प्रणालीभित्र डिजिटल सुरक्षालाई नीति, तालिम र रिपोर्टिङमा समाहित गर्ने ।

-आवाको महत्व)ः बाँचेकाहरूको आवाजलाई नीति निर्माण र कार्यक्रमहरूको केन्द्रमा राख्ने ।

-सबै सकृय गर्नुहोसः पुरुष र युवाहरूलाई सहयोगीका रूपमा सक्रिय बनाउने ।

-विश्वका कार्यस्थल सुरक्षा ः कार्यस्थलदेखि अनलाइन प्लेटफर्मसम्म सुरक्षित, समावेशी वातावरण निर्माण गर्ने ।

“स्वास्थ्य र कल्याण दुवै लैङ्गिक समानताका मुख्य प्रवेशद्वार हुन् । हाम्रो नेतृत्व, आवाज र दैनिक व्यवहार—अनलाइन होस् वा अफलाइनले परिवर्तनलाई गति दिन सक्छ,” बोहेमले भने । १६ दिने अभियानको प्रारम्भसँगै उनले सबै देश, समुदाय र व्यक्तिलाई यस परिवर्तनमा सहभागी हुन आह्वान गर्दै भने, “हामी सबै मिलेर यस्तो संसार बनाउनु सक्छौँ जहाँ प्रत्येक महिला र केटी सुरक्षित, सम्मानित र सशक्त महसुस गर्न सकुन्—घरमा, कार्यस्थलमा, सडकमा र डिजिटल स्थानमा ।