एनपीएलमा काठमान्डुको दोस्रो जीत, लुम्बिनी २२ रनले पराजित


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमान्डु गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो।

काठमान्डुका कप्तान करण केसीले अविजित ३४ रनको पारी खेले भने आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्ड कुमार र जेराल्ड इरासमसले समान १७–१७ तथा रसिद खानले १४ रन जोडे।
लुम्बिनीका शेर मल्ल, कप्तान रोहित पौडेल, रुवेन ट्रम्पलम्यान र गुलवदिन नैवले दुई–दुई विकेट लिए।

जवाफी रन–ध्याउनीमा १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमै १३५ रनमा अलआउट भयो। लुम्बिनीका शेर मल्लले २७ रन, दीलिप नाथले २५ रन, डी’आर्की सटले २२ रन तथा कप्तान रोहित पौडेल र गुलवदिन नैवले ११–११ रन जोडे।

काठमान्डुको तर्फबाट मिलिन्ड कुमार र जेराल्ड इरासमसले दुई–दुई विकेट हात लगे। त्यस्तै शाहब आलम, सन्तोष यादव, कप्तान करण केसी र रसिद खानले एक–एक विकेट योगदान गरे।

दोस्रो जितसँगै काठमान्डुले चार खेलबाट ४ अंक बटुलेको छ र प्लेअफको सम्भावना जीवित राखेको छ। यसअघि काठमान्डुले उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो भने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो।

तेस्रो खेलमै दोस्रो हार व्यहोरेको लुम्बिनी भने ३ खेलपछि २ अंकसहित दबाबमा परेको छ। लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ठूला अन्तरले हारेको थियो।

बुधबारको डे–नाइट भिडन्तमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुनेछन्।