काठमाडौँ।
काठमाडौँ महानगरपालिका–१६ नयाँबजार क्षेत्रमा विभिन्न दुर्लभ वनपैदवारहरूको अवैध संकलन, ओसारपसार र बिक्री वितरण हुँदै आएको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष अनुसन्धान सञ्चालन गरी दुई जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो ३ बजे खटिएको टोलीले एउटै घरमा बस्दै आएका ३६ वर्षीया नबिला बानु र ३७ वर्षीय एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाको साथबाट ठूलो परिमाणमा दुर्लभ तथा मूल्यवान् वनपैदवार बरामद गरिएको प्रहरीले जनाएको छ। ती पदार्थहरू बजारमा अत्यधिक महँगो मूल्यमा अवैध रूपमा कारोबार हुनेसमेत प्रारम्भिक अनुसन्धानले देखाएको छ।
बरामद सामग्रीहरू
नेपाली रुपैयाँ: २० लाख
यार्सागुम्बा जस्तो देखिने पदार्थ: ९ केजी ३६० ग्राम
वनलसुन जस्तो देखिने पदार्थ: १५७ केजी
किटपतंग (सुकेको किरा) जस्तो देखिने पदार्थ: १०१ केजी
गुच्ची च्याउ जस्तो देखिने पदार्थ: ७ केजी ९०० ग्राम
पहिचान नभएको जडीबुटी: ७ केजी ५०० ग्राम
तौल मेसिन: २ थान
क्याल्कुलेटर: १ थान
विभिन्न कम्पनीका मोबाइल: ३ थान
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना लामो समयदेखि अवैध वनपैदवारको अवैध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका उनीहरूलाई वन ऐन, २०७६ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि काठमाडौँ हात्तीसारस्थित डिभिजन वन कार्यालयमा पठाइएको छ।











प्रतिक्रिया