एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा


काठमाडौँ।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनका लागि पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार जारी गरिएको विज्ञप्तिमार्फत पोखरेलले पार्टी पुनर्गठन, रुपान्तरण र सामूहिक नेतृत्वलाई प्राथमिकता दिँदै आफू अध्यक्षका लागि अघि सरेको स्पष्ट पारे।

उनले पार्टीका सदस्यहरूको योग्यता र क्षमताअनुसार जिम्मेवारी बाँडफाँड गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभ्याउन प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निभाउने अपेक्षा व्यक्त गर्दै अभिभावकीय ढंगले सहज निकास दिन आग्रह पनि गरे।

पोखरेलले पार्टीको रक्षा नै राष्ट्र र जनताको हितको रक्षा हुने भन्दै वर्तमान राजनीतिक परिस्थितिमा एमालेलाई सुदृढ रूपमा अगाडि बढाउन नेतृत्व आवश्यक रहेको टिप्पणी गरेका छन्।

नेकपा एमालेको अधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ।