काठमाडौँ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले आफ्नो पाँच वर्षे सफल कार्यकाल पूरा गरी बिदाइ भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले एक समारोहमार्फत डा. पाण्डवलाई बिदाइ गर्दै नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि उहाँले पु¥याएको योगदानको प्रशंसा गरिन् ।
मन्त्री गौतमका अनुसार डा. पाण्डवले नेपालमा खोप कभरेज विस्तारदेखि नसर्ने रोग रोकथाम, स्वास्थ्य प्रणाली मजबुतीकरण र सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेले । उनले भनिन्,“नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदानका लागि सरकार तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”
डा. पाण्डव नेपाल प्रमुख रहेका बेला विश्वभरी कोभिड–१९ महामारी फैलिएको थियो । मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार महामारीको कठिन परिस्थितिमा पनि उनको सरकारसँगको सहकार्य र समन्वय प्रभावकारी रहेको र कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताइयो । उनको कार्यकाल समाप्त भएपछि डा. पाण्डव अब श्रीलंकाका लागि डब्लुएचओ प्रमुखका रुपमा जिम्मेवारी सम्हाल्दै छन् ।
डब्लुएचओ नेपालमा नयाँ प्रमुख को आउने भन्ने विषय भने अझै अनिश्चित छ । डब्लुएचओले अहिलेसम्म सरकारलाई कुनै नाम पठाएको छैन, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन् । उनका अनुसार डब्लुएचओले प्रायः तीनदेखि पाँच जना उम्मेदवारको नाम नेपाल सरकारलाई सिफारिस गर्छ, जसको व्यक्तिगत विवरण र अनुभवको मूल्यांकन गरेर सरकारले एक जना प्रमुख टुंगो लगाउने गर्दछ । “अहिलेसम्म कसैको नाम आएको छैन । डा.बुढाथोकी भन्छन्, डब्लुएचओबाट नाम पठाउन ढिलाइ भएकैले नयाँ प्रमुख आउन करिब एकदेखि डेढ महिना लाग्न सक्छ, ।”











प्रतिक्रिया