मितेरी पुल बग्दा १४ अर्ब राजस्व गुम्यो


रसुवा ।

गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि पाँच महिनादेखि नाका पूर्णरूपमा ठप्प छ । नाका बन्द भएपछि सरकारले झन्डै १४ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गुमाएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षका साउन, भदौ, असोज र कार्तिक महिनाका लागि १३ अर्ब ५३ करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो । तर मितेरी पुल, भन्सार यार्ड र सडक संरचना बाढीले क्षतिग्रस्त पार्दा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन । बाढीका कारण करिब ३०० भन्दा बढी मालबाहक कन्टेनर भन्सार प्रक्रियामा नै रोकिएका छन्।

व्यापारीहरूले चीनबाट ल्याइएका सामग्री पाँच महिनादेखि ढुवानी हुन नसक्दा ठूलो आर्थिक क्षति व्यहोरिएको बताएका छन् ।
बाढीले थुप्रै मानिसको ज्यानसमेत गएको थियो भने ट्रक तथा कन्टेनर बगाउँदा नाका क्षेत्र नै अस्तव्यस्त बनेको थियो। नाका बन्द भएकै कारण नेपाल–चीनबीचको अस्थायी व्यापार मार्ग पूर्णरूपमा ठप्प छ । सङ्घीय राजधानी काठमाडौंबाट १३२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाका राजस्व संकलनका आधारमा देशकै महत्वपूर्ण बिन्दु मानिन्छ । उत्तरी छिमेकी चीनसँगको प्रमुख व्यापारिक मार्गका रूपमा विकसित हुँदै आएको यो नाका ल्हेन्दे खोला बाढीपछि अझै सञ्चालनमा आउन सकेको छैन ।