३६ अर्बभन्दा बढी एफडीआई स्वीकृत


काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपियाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ । उद्योग विभागका अनुसार कात्तिक महिनासम्म ३८२ परियोजना दर्ता भएका छन्, जुन संख्या र रकम दुवै हिसाबले गत वर्षको त्यही अवधि १९ अर्बभन्दा दोब्बरभन्दा धेरै वृद्धि हो ।

सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा दर्ता भएका छन्। आईसीटी समूहमा मात्रै २०५ उद्योग दर्ता भए पनि लगानी रकम भने ८७ करोड ४३ लाख रुपियाँमा सीमित छ ।

लगानी रकमका हिसाबले भने कृषि तथा वन आधारित उद्योग अग्रस्थानमा रहेका छन्। विभागका अनुसार यस समूहका १३ उद्योगका लागि मात्रै २१ अर्ब ८८ करोड रुपियाँ बराबरको एफडीआई स्वीकृत भएको छ, जसले कुल स्वीकृत रकमको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । पर्यटन क्षेत्र पनि सक्रिय देखिएको विभागको तथ्याङ्कले जनाउँछ । यस समूहमा ११८ पर्यटन उद्योगका लागि ८ अर्ब ९४ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

त्यसैगरी सेवा क्षेत्रका २३ उद्योगमा ३ अर्ब ९ करोड, उत्पादनमूलक क्षेत्रका २१ उद्योगमा १ अर्ब ६५ करोड, पूर्वाधार क्षेत्रमा ८ अर्ब ७४ करोड, ऊर्जा क्षेत्रमा १८ करोड, खानी क्षेत्रमा करिब ४५ लाख एफडीआई स्वीकृत भएको विभागले जनाएको छ । कात्तिक महिनामा मात्रै ७१ नयाँ उद्योग दर्ता भएका छन् । सो महिनामा प्राप्त वैदेशिक लगानी प्रतिबद्धता १ अर्ब ५४ करोड ३९ लाख रुपियाँ रहेको उद्योग विभागले जानकारी दिएको छ ।