भक्तपुर ।
देशको भोलिको भविष्य बोकेका बालबालिकाको विषयका समाचारलाई राष्ट्रियस्तरका सञ्चार माध्यमले प्रथामिकतामा राख्नु पर्ने विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी एवं सरोकारवालाहरूले माग गरेका छन् ।
आज बालबालिका र सञ्चार समूहले आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बालबालिकासम्बन्धी महत्वपूर्ण सयौं विषयवस्तु भए पनि त्यसलाई उठान गर्न नसक्दा बालबालिका पीडित बन्दै गएको बताइएको छ ।
पछिल्लो समय सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार पनि बालबालिकामा सहजै सामाजिक सञ्जालको पहुँचले ल्याएको विकृतिले धेरैको भविष्य ओझेलमा परेको तथ्य एवं तथ्यांकमाथि छलफल गर्दै सामाजिक सञ्जालको दुरुपयोगले बालकहरू कुलत र गेममा फस्दै जाने, बालिकाहरू दुव्र्यवहारमा फस्दै जाने गरेकाले यसबारे बालबालिका र अभिभावकलाई सचेतना जगाउनुपर्ने आवश्यकता रहेको बताइएको छ ।
कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवालीले बालबालिकामा विभिन्न नयाँ समस्याहरू थपिँदै आएको बताउँदै सामाजिक सञ्जालको दुरुपयोगले बालबालिकाको शारीरिक र मानसिक समस्या थपिँदै गएको बताउनुभयो । उहाँले बालबालिकाका महत्वपूर्ण सयांै विषयवस्तु समाचार माध्यममा उठान नहुँदा बालबालिकाको भविष्यमात्रै नभई देशकै भविष्य आझेलमा पर्न सक्ने बताउँदै सामाजिक क्षेत्रका बालबालिकाका विषयलाई समाचार माध्यमले प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी रमेश गिरीले बालश्रम, बाल यौन दुव्र्यवहारको भयावह अवस्था र बालबालिकाको सहभागिताका सवालमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले समाचार संस्थाहरूले बालबालिकाको जोखिमका अनगिन्ती विषयहरूलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके यसले ठूलो सचेतनाको काम गर्ने र बालबालिकालाई जोखिमबाट बाहिर ल्याउन ठूलो भूमिका निर्वाह हुने बताउनुभयो ।
कार्यक्रममा बालबालिका र सञ्चार समूहका संयोजक गोविन्द खड्काले नेपालका बालबालिकाका प्रमुख सवालका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको बालबालिकाको अवस्था, सरकारी तथ्यांक र बालबालिकाको भविष्य निर्धारणमा मिडियाको भूमिकाका बारेमा चर्चा गर्नभयो ।
राजनीतिक दलको कार्यक्रमदेखि जेन–जी आन्दोलनसम्म बालबालिकाको प्रयोगले ल्याएको मानसिक र शारीरिक समस्याका साथै शिक्षा, स्वास्थ्य, बाल अधिकारका क्षेत्रमा सहभागी विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले समाचारमा उठाउनुपर्ने विषयहरू माथि चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा सिविसका परियोजना संयोजक उमंग मैनालीले बालश्रम, जोखिममा रहेका बालबालिका, उनीहरूको शिक्षा, स्वास्थ्यको सवाल, उद्धार गरिएका बालबालिका, यौन दुव्र्यवहारमा परेका बालबालिकाका लागि गरिएका कानुनी सहायता, अभिभावक जीविकोपार्जन परियोजना लगायतका बारेमा चर्चा गर्दै सञ्चार माध्यमले बालबालिकाको विषयलाई उठान गर्न सके समस्या समाधानमा राज्यलाईसमेत दबाब पुग्ने बताउनुभयो ।











प्रतिक्रिया