हनुमानढोका कार्यालय र टिकट काउन्टर बन्द गर्छौं

3.01k
Shares

काठमाडौैं ।

काठमाडौं दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले हनुमानढोका दरबारस्थित कामपा हनुमानढोका दरबारक्षेत्र व्यवस्थापन कार्यालय र सबै टिकट काउन्टर बन्द गर्ने चेतावनी दिएको छ ।

महासमितिले मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सहरी योजना आयोग, कामपा नगर प्रहरी बल र सम्पदा तथा पर्यटन समितिका संयोजकलाई पत्र पठाएर महानगरको कार्यालय र टिकट काउन्टर बन्द गर्ने चेतावनी दिएको हो ।

महासमितिका संरक्षक मनोज नेवाः खड्गीले केही दिनमै तालाबन्दी गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– ‘पत्रको विषयमा आज सोमबारसम्म सोधखोज गर्छौं, उचित उत्तर नआएमा बन्द गर्नेछौं ।’ महासमिति पूर्वकुमारीप्रति कामपा प्रहरी बलप्रमुख राजुनाथ पाण्डेले गरेको अभद्र व्यवहारको विरुद्धमा आन्दोलनमा उत्रिएका हो । संरक्षक खड्गीले महानगरपालिकाअन्तर्गत कार्यरत नगर प्रहरीले संस्कृतिप्रति असंवेदनशीलता प्रकट गर्दै सम्पूर्ण नेपालीको आस्थाको केन्द्र जीवित देवी कुमारी परम्पराको अपमान गरेको बताउनुभयो ।

महासमितिले बुझाएको पत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारक्षेत्रमा सम्पदा संरक्षण कार्यक्रम सञ्चालनमा आएको बखत दरबार क्षेत्रको सम्पदा संरक्षण तथा संवद्र्धन एवं विकास निर्माणमा महासमितिबीच पटकपटक सहमति र सम्झौताहरू भएको तर ती सहमति, सम्झौता तथा समझदारी कार्यान्वयनमा कुनै पहल नगरेकाले तालाबन्दी गर्न लागेको उल्लेख छ ।

‘हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको औचित्यमा गम्भीर प्रश्न उत्पन्न भएको विषयमा मेयर साहलाई ध्यानाकर्षण गराएका थियौं । हाम्रा मागहरू सम्बोधन नगरी मुद्दालाई अन्यत्र लैजान कुमारीघरको छानो फेर्ने तथा वर्षौंअघि चोरी भई राष्ट्रिय संग्रहालयमा राखिएको कुमारीघरको तोरणलाई स्थापना गरी राजनीतिकरण गर्न खोजिएको छ’ –विज्ञप्तिमा भनिएको छ ।
मागप्रति बेवास्ता गरेर एकलौटी निर्णय गर्न खोजेको विरोधमा हनुमानढोका कार्यालयसँग भएको सम्झौता भंग गर्दै जुनसुकै बेला ताला लगाउने चेतावनी दिएको छ ।

सम्पदा संरक्षण गर्न लागेका सिन्हः स्वा खलः, मरुहिटी, महादेव मखन क्लब, श्रीखण्डतरुमूल महाविहार संरक्षण तथा सञ्चालन समिति, बन्जाहिटी युवा, संयुक्त युवा, बज्र गंगा क्लब, कला कुञ्ज, मरु त्वाःपुचः, वसन्तपुर त्वाः पुचःलगायतले महासमितिको आन्दोलनलाई समर्थन गरेका छन् । त्यस्तै, नेपाल सहजी सेवा समिति (सङ्गी समाज), शाक्य महाविहार संघ र इन्द्र जात्रा व्यवस्थापन समितिले समेत महामितिको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।

नगर प्रहरी बल प्रमुख पाण्डेले नौ वर्षपछि कुलघर फर्किन लाग्नुभएकी श्रीकुमारीको पवित्र दैनिक उपभोग्य सामग्री ओसारपसारका क्रममा कुमारीघर अगाडि केही क्षणका लागि गाडी रोकेर सामान ओसार्न अनुमति नदिएपछि आक्रोश बढेको थियो । सोही झोकमा कुमारीमाथि नगर प्रहरी बल प्रमुखले अपहेलना गरेको आरोप लगाउँदै राजीनामा मागेका थिए ।

घटनालगत्तै इन्द्रजात्रा व्यवस्थापन समितिदेखि हनुमानढोका दरबारक्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले नगरप्रहरी बलप्रमुख पाण्डेको राजीनामा र मेयर साहले क्षमापूजा गर्नुपर्ने माग अघि सारेका थिए । सो घटनामा नगरप्रहरी प्रमुख पाण्डेले कुमारी शाक्यको सामान लैजान सवारी प्रवेशको अनुमति माग्दा इन्कार गर्नुभएको थियो ।

नगर प्रहरीको ज्यादतीको विरोधमा महासमितिले दुई महिनायता निरन्तर आन्दोलन जारी राखेको छ । महासमितिले प्रहरी प्रमुख पाण्डेको राजीनामा, दोस्रो राजीनामा नदिएको खण्डमा बर्खास्त गरी मेयर साहले माफी मागेर कुमारीघरमा क्षमापूजा गर्नेुपर्ने, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत कार्यरत महानगर प्रहरी कर्मचारीहरूको विकल्प कार्यान्वयन गर्ने र कामपा कार्यरत कर्मचारीहरूले कुमारीको अपमान गरेको कार्यप्रति मेयरले जिम्मेवारी बहन गर्दै सार्वजनिक माफी मागेर कुमारीघरमा क्षमापूजा गर्नुपर्ने माग राखेका छन् ।