ऐरीको शानदार प्रदर्शन, सुदूरपश्चिम फेरि विजयी


काठमाडौँ।

कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनको बलमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्‍यो।

तेस्रो जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा मजबुत उपस्थिती जमाएको छ। यो लिगमा अहिलेसम्म अपराजित रहने दोस्रो टोली पनि हो। समान ६ अंक बनाएको विराटनगर किङ्स दोस्रो स्थानमा छ, जबकि कर्णालीले तीन खेलमा एक जित सहित २ अंक मात्रै जोडेको छ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। कप्तान ऐरीले २८ बलमा १ चौका र २ छक्कासहित ३९ रनको योगदान दिए।
यस्तै आरिफ शेखले २५ बलमा २७ रन, हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइजनले १० रन जोडे।

बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए। नन्दन यादवले २ तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिएका थिए।

जितका लागि १४० रनको लक्ष्य पछ्याएको कर्णाली टोली २० ओभरमै ९४ रनमा समेटियो। पवन सर्राफले २७, मार्क वार्टले १७, सोमपाल कामीले १४ तथा गुल्शन झा र अर्जुन घर्तीले समान १३–१३ रन बनाए।

बलिङमा सुदूरपश्चिमका कप्तान ऐरीले सानदार प्रदर्शन गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए र ‘प्लेयर अफ दि म्याच’ बने। हर्मित सिंह र अविनाश बोहराले २–२ विकेट तथा हेमन्त धामी र स्कट कुगेलेइजनले १–१ विकेट लिए