मेड्रिड, (एजेन्सी)
अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी बार्सिलोना फुटबल क्लबको इतिहासमा ‘सबैभन्दा प्रिय खेलाडी’ (मोस्ट लभ्ड प्लेयर) घोषित भएका छन् ।
स्पेनी दैनिक “स्पोर्ट” द्वारा आयोजित “वालोरेस डेल डेपोर्टे” गालाको अवसरमा भएको बृहत् समर्थक सर्वेक्षण र सार्वजनिक मतदानले मेसीलाई सर्वाधिक मतसहित शीर्ष स्थानमा पु¥याएको हो । यो सम्मान १७ वर्ष लामो आफ्नो करियरमा क्लबसँग कायम राखेको गहिरो भावनात्मक सम्बन्ध र अतुलनीय योगदानको औपचारिक मान्यता हो ।
फ्लोरिडाबाट भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका मेसीले सम्मान ग्रहण गर्दा निकै भावुक देखिए । समर्थकहरूको माया समेटिएको भिडियो हेरेपछि उनले बार्सिलोनाप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै “बार्सिलोना मेरो ‘घर’ हो भने । मेसीले सन् २०२१ मा महामारीका कारण उचित बिदाइ नपाएर क्लब छोड्नु परेको अवस्थाप्रति पुनः दुःख व्यक्त गरे ।
यद्यपि, हाल इन्टर मायामीमा रहेका उनले भविष्यमा मायामीमा केही वर्ष बिताएपछि फेरि बार्सिलोनामै फर्केर बस्ने स्पष्ट चाहना राखेका छन् । उनले क्लबसँगको भावनात्मक सम्बन्धका कारण आफूले कहिल्यै बार्सिलोनाबाट पूर्ण रूपमा टाढिएको महसुस नगरेको बताए ।
मेसी सन् २००० मा १३ वर्षको उमेरमा बार्सिलोनासँग जोडिएका थिए र १७ वर्षको अवधिमा उनले क्लबका लागि ३५ मुख्य उपाधि जिते । यसमा १० ला लिगा, ४ युइएफए च्याम्पियन्स लिग र ३ फिफा क्लब विश्वकप लगायतका प्रमुख शीर्षकहरू समावेश छन् । क्लबका लागि ७७८ खेलमा ६७२ गोल गर्दै उनी बार्सिलोना इतिहासकै सर्वाधिक गोलकर्ता र आठ पटकका ‘बालेन डि ओर‘ विजेताको रूपमा क्लबका सबैभन्दा सफल खेलाडीमध्ये एक मानिन्छन् ।











प्रतिक्रिया