काठमाडौँ।
सरकारको नियमित मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दैछ। बैठकको मुख्य एजेन्डामा नयाँ मुख्यसचिव नियुक्तिको विषय शीर्षमा रहेको स्रोतले जनाएको छ।
विद्यमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा भएसँगै मंगलबार रातिबाट अनिवार्य अवकाशमा जाने भएका छन्। उनी अवकाश भएपछि नयाँ मुख्यसचिव चयन गर्ने प्रक्रिया आजकै बैठकबाट टुंगो लाग्ने सम्भावना छ।
२९औँ मुख्यसचिवका लागि चार जना सचिव प्रतिस्पर्धामा छन्। तर तीमध्ये रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुश्कर मुख्य दावेदारका रूपमा देखिएका छन्।
अर्याल २०७७ माघ १९ गते सचिवमा बढुवा भएका हुन्। यस्तै पुस्कर २०७८ असार २५ गते सचिवमा नियुक्त भएका थिए। वरिष्ठताका हिसाबले अर्याल पाँच महिना अगाडि बढुवा भएकाले उनै मुख्यसचिव बन्ने सम्भावना बढी देखिन्छ।
यसअघि भएका सचिवस्तरीय नियुक्तिमा सरकारले प्रायः वरिष्ठता क्रमलाई प्राथमिकता दिँदै आएको छ। यसपटक पनि त्यही परम्परा दोहोरिने सम्भावना बढी रहेको सरकारी अधिकारीहरू बताउँछन्।
सुशीला कार्की प्रधानमन्त्री बनेपछि सुमनराज अर्याललाई रक्षा सचिवको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी राष्ट्रिय योजना आयोगमा कार्यरत थिए।











प्रतिक्रिया