एनपीएलमा आज दुई रोमाञ्चक खेल: विराटनगर–जनकपुर र सुदूरपश्चिम–कर्णाली आमनेसामने


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्।
पहिलो खेलमा बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्दै छन् भने दोस्रो खेल अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ।

अपराजित यात्रामा रहेका विराटनगर र सुदूरपश्चिम आज पनि जित हात पारी प्लेअफ नजिक पुग्ने लक्ष्यमा छन्। त्यसैबेला पहिलो खेल हारेर दबाबमा रहेका जनकपुर तथा एक–एक जित र हार भोगेको कर्णाली पुनरागमनमा केन्द्रित हुनेछन्।

विगत संस्करणभन्दा निकै बलियो देखिएको विराटनगरले पोखरा र काठमाण्डुलाई ठूला अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ। घरेलु तथा विदेशी खेलाडीबीचको उत्कृष्ट तालमेल टोलीको मुख्य बलियो पक्ष बनेको छ।

साबिक विजेता जनकपुर भने पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले पराजित भएको थियो। कागजमा बलियो देखिए पनि अधिकांश खेलाडीबाट अपेक्षित प्रदर्शन नआएपछि विराटनगरविरुद्ध लय समाउन जनकपुर चुनौतीपूर्ण स्थितिमा छ। गत वर्ष उद्घाटन खेलमा जनकपुरले नै विराटनगरलाई ८ विकेटले हराएको थियो।

दोस्रो खेलमा सुदूरपश्चिम र कर्णाली भिड्नेछन्। दुई खेलमा लगातार जीत हात पारेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने दाउमा छ। टोलीमा अनुभवी विदेशी ब्याटरको साथसाथै तल्लोक्रमसम्म योगदान दिन सक्ने खेलाडी भएको उनीहरूको थप बल हो।

त्यसैबेला कर्णालीले पहिलो खेलमा चितवनसँग हार व्यहोरे पनि दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराउँदै उत्कृष्ट पुनरागमन गरिसकेको छ। मार्क वाटको आक्रमक ब्याटिङ कर्णालीका लागि विशेष आकर्षण बनेको छ।

८ खेल सम्पन्न हुँदा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स दुवै अपराजित छन्। समान ४–४ अंक भए पनि नेट रन रेटका आधारमा विराटनगर शीर्ष स्थानमा छ। काठमाण्डु गोर्खाजले ३ खेल, जनकपुरले १ खेल र अन्य सबै टोलीले २–२ खेल खेलिसकेका छन्।

पहिलो पटक प्यारापिट र फ्लड लाइटमा खेलाइएको एनपीएलले नेपाली क्रिकेटमा उत्साह थप्दै मैदानमा प्रतिस्पर्धा झनै रोमाञ्चक बनाएको छ। अहिलेसम्म ब्याटिङतर्फ विदेशी खेलाडी हावी देखिए पनि बलिङतर्फ नेपाली खेलाडीले प्रभाव जमाइरहेका छन्।