‘त्रिरत्न’ को आर्शिवाद पाएको कोन्ज्योसोम पर्यटकको पर्खाइमा

470
Shares

‘कोञ्ज्योसोम’ नाम तामाङ भाषाबाट व्युत्पन्न भएको हो । यसमा ‘कोञ्ज्यो’ को अर्थ ‘रत्न’ वा ‘भगवान’ र ‘सोम’ को अर्थ ‘तीन’ हुन्छ । बौद्ध धर्मसँग जोडेर यसलाई ‘त्रिरत्न’ (बुद्ध, धर्म र संघ) को रूपमा व्याख्या गरिन्छ, जसले शान्ति र आध्यात्मिकतालाई प्रतिनिधित्व गर्दछ । अर्को अर्थमा ‘कोञ्ज्यो’लाई पहाडको चुचुरो वा उच्च स्थान र ‘सोम’लाई थुम्को वा सिरानको अर्थमा पनि लिइन्छ ।

तामाङ भाषामा धेरै स्थान नाममा ‘सोम’ प्रत्यय जोडिएको पाइन्छ । यस अर्थमा दक्षिण ललितपुरको ‘कोञ्ज्योसोम’ केबल भौगोलिक नाम मात्र होइन । धर्म, संस्कृति, इतिहास र प्रकृतिको संगम हो । सोही मान्यताका आधारमा समुद्री सतहबाट २ हजार ५७५ मिटर उचाइमा रहेको ‘कोञ्ज्योसोम’को फूलबारी डाँडामा ‘त्रिरत्न’ (बुद्ध, धर्म र संघ) का विशाल प्रतिमा स्थापना गरी धार्मिक एवम् पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । जहाँबाट सगरमाथा, कञ्चनजंघा, माछापुच्छ्रे , अन्नपूर्ण, धौलागिरि, गौरीशंकर, जुगल, गणेश लगायत दर्जनभन्दा बढी हिमालको सौन्दर्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । यो क्षेत्रमा तामाङ समुदायको बाहुल्यता छ, जसले यहाँको सांस्कृतिक पहिचानलाई जीवन्त राखेका छन् । साथै अन्य जातिको पनि बसोबासले सामाजिक–धार्मिक मेलमिलापको बिम्ब पाइन्छ । धार्मिक एवम् प्राकृतिक सौन्दर्यताको केन्द्रका रूपमा रहेको यो क्षेत्र हिजोआज आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्न थालेको छ ।

भौगोलिक अवस्था

कोन्ज्योसोम ललितपुर महानगरपालिकाको दक्षिण र गोदावरी नगरपालिकासँग जोडिएको पहाडी एवम् उपत्यका क्षेत्र हो । यो फुलचोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्छ । समुद्री सतहबाट २ हजार ५७५ मिटर उचाइमा रहेको यहाँको फूलबारी डाँडाबाट सगरमाथा, कञ्चनजंघा, माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, गणेश हिमाल, लामटाङ, जुगलगायत दर्जनभन्दा बढी हिमशृङखलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । लपक्कै हिउँ र छपक्कै गुराँस फुल्ने यो क्षेत्रले पर्यटकहरूलाई मोहित बनाउँछ । महाभारत पर्वत शृंखलामा अवस्थित यस क्षेत्रमा विविध वनस्पति, जीवजन्तु र औषधीय जडिबुटीहरू पाइन्छन्, जसले पर्यावरण पर्यटनलाई प्रोत्साहन दिन्छ ।फूलबारी डाँडाको ठीक मुनि अवस्थित गुप्तेश्वर महादेव मन्दिर र गुफा यस क्षेत्रको अर्को धार्मिक धरोहर हो । हिन्दू र बौद्ध दुवै समुदायका पवित्र स्थल मानिने यो गुफाको उत्पत्तिसँग अनगिन्ती किंवदन्ती जोडिएका छन् ।

जनश्रुति अनुसार त्यस क्षेत्रमा खडेरी पर्दा गुप्तेश्वरको आराधना गरे वर्षा हुने विश्वास प्राचीन कालदेखि चलिआएको छ । साउन महिना, शिव रात्रिजस्ता पर्वमा यहाँ विशाल मेला लाग्छ भने त्रिरत्न मूर्ति स्थलमा सोनाम ल्होसार, बुद्ध जयन्ती प्रमुख पर्वको रूपमा मनाइन्छ ।

मुख्य पर्यटकीय गन्तव्य

कोन्ज्योसोम पर्यटकीय स्थलहरू धार्मिक, प्राकृतिक र साहसिक पर्यटनका लागि पनि उपयुक्त छन् ।

फूलबारी डाँडा र त्रिरत्न प्रतिमा स् यो धार्मिक तथा पर्यटकीय स्थल कोन्ज्योसोम गाउँपालिका वडा नं। ५ भारदेउमा अवस्थित छ । यहाँ बौद्ध दर्शनअनुसार त्रिदेव (बुद्ध, धर्म र संघ) का विशाल प्रतिमाहरू स्थापना गरिएका छन्, जसले हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूलाई आकर्षित गर्दछ । यो स्थान पदयात्रा, दृश्यावलोकन र आध्यात्मिक शान्तिका लागि आदर्श छ ।

गुप्तेश्वर महादेव मन्दिर र गुफा फूलबारी डाँडाबाट करिब १०० मिटर तल रहेको यो मन्दिर धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वको छ । प्राचीन कालदेखि नै हिन्दू र बौद्ध धर्मावलम्बीहरू यहाँ पूजा आराधना गर्न आउँछन् । स्थानीयहरूका अनुसार, खडेरी पर्दा यस मन्दिरमा पूजा गरेपछि पानी पर्ने विश्वास छ । गुफा अन्वेषणले साहसिक पर्यटकहरूलाई फरक अनुभूति दिन्छ।

कोन्ज्योसोम झरना स् शंखु क्षेत्र नजिकै रहेको यो लुकेको प्राकृतिक स्थलमा शान्त वातावरण, चिसो पानी र रमणीय दृश्यहरू छन् । पदयात्रा र पिकनिकका लागि उपयुक्त यो झरना हाल पर्यावरण संरक्षण अभियानहरूबाट चर्चामा छ ।

दलचोकी डाँडा : यो डाँडाबाट काठमाडौं उपत्यका, तराई मैदान र हिमाली दृश्यहरूको अवलोकन गर्न सकिन्छ । सूर्योदयरसूर्यास्त हेर्न, पदयात्रा र जंगल अन्वेषणका लागि प्रसिद्ध छ ।

अन्य स्थलहरूमा थानापाटी गुफा (साहसिक अन्वेषणका लागि), मनकामना र दलचोकी मन्दिर (धार्मिक र सांस्कृतिक महत्व), पाथीभरा मन्दिर, शंखु गाउँ र छर्योतेन (बौद्ध स्तूप र स्थानीय जीवनशैली), साथै गुम्बाहरू, प्राकृतिक गुफाहरू र जंगलहरूले पर्यटनलाई विविधता दिन्छन् ।

इतिहास, संस्कृति र स्थानीय जीवन

प्राचीन कालदेखि नै यो क्षेत्र धार्मिक महत्वको छ । भारदेउ गाउँमा ८० प्रतिशतभन्दा बढी तामाङ जातिको बाहुल्य छ, जसमा नेवार र अन्य समुदाय पनि मिसिएको छ । स्थानीयहरूका अनुसार, ‘भारदेउ’ नाम ‘भागदेउ’ बाट अपभ्रंश भएको हो, जसको किंवदन्ती गुप्तेश्वर महादेवसँग जोडिएको छ ।
तामाङ संस्कृति धनी छ, जसमा रैथाने खानासँगै ट्राउट माछा र आलुका परिकारहरू थपिएका छन् । सयपत्री र तोरी फुल्ने मौसममा यो क्षेत्र तस्वीर र भिडियोका लागि आकर्षक हुन्छ ।

पूर्वाधार र पर्यटन विकास

कोन्ज्योसोम पर्यटन पूर्वाधार विकास हुँदै छ । भारदेउमा १२७ वर्ष पुरानो १७ झ्याले घर, रेड हाउस, यल्लो हाउस होमस्टे र भारदेउ भ्यू मिनी रिसोर्टलगायत सञ्चालनमा छन् । साथै स्थानीयहरुले थप सामुदायिक होमस्टेहरू खोल्ने तयारीमा रहेको व्यवसायी एवम् स्थानीय बासिन्दा ज्ञानबहादुर मोक्तानले जानकारी दिनुभयो । जसले तामाङ संस्कृतिको अनुभव गराउनेछन् । कोन्ज्योसोम गाउँपालिकाका निर्वतमान अध्यक्ष गोपीलाल सिङ्तानको नेतृत्वमा कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन धार्मिक एवम् प्राकृतिक पर्यटन प्रवद्र्धन क्रियाशील छ ।

गन्तव्यसम्म पुग्नका लागि सडक सुधारको कार्य जारी छ । सडक सुधार पश्चात् आगामी वर्षहरूमा स्थानीय तथा पर्यटकहरूको यात्रालाई सहज बनाउनेछ । कोन्ज्योसोम झरनालाई पनि पर्यावरणमैत्री पदयात्राका लागि प्रचार गरिँदै छ ।

कसरी पुग्ने ?

ललितपुरको सातदोबाटोबाट करिब २२ किमी दूरीमा रहेको भारदेउ पुग्न लगनखेल वा चापागाउँबाट विहान र दिउँसो दुईपटक दैनिक सार्वजनिक यातायात उपलब्ध छ । निजी सवारीमा एकदेखि डेढ घण्टा लाग्छ । सडक आधा कालोपत्रे र आधा कच्ची छ, तर स्तरोन्नति हुँदैछ । साइक्लिङ वा बाइक यात्रा पनि सहज छ । फूलबारी डाँडासम्म कच्ची सडक वा पैदल यात्रा गर्न सकिन्छ । सातदोबाटो–ढोलाहिटी–ठेचो–सुनाकोठी चापागाउँ हुँदै टीकाभैरब दोबाटोबाट लेलेतर्फ नगई पूर्व तेस्रै जान सकिन्छ ।

पद मार्गहरू र साहसिक यात्रा

गोदावरी–फुलचोकी–कोन्ज्योसोम पदमार्ग पुरानो र विदेशी पर्यटकहरूको रोजाइ थियो । तर, द्वन्द्वकालमा प्रभावित भयो। हाल जंगल विस्तार र वन्यजन्तु बढेकाले पदयात्रीहरू कम छन्, तर पुनरुत्थान हुँदै छ ।

‘गोदावरी–फूलचोकी–कोन्ज्योसोम (भारदेउ) सम्मको पदमार्ग धेरै पुरानो हो । यो विदेशी पर्यटकको मुख्य रोजाइमा थियो ।’ काठमाडौंका नाम चलेका ट्राभल्स र ठूला होटलले समेत सो क्षेत्रमा पदयात्राको प्याकेज बिक्री गर्ने गरेको व्यवसायी मोक्तान बताउनुहुन्छ । द्वन्द्वकालमा पदमार्ग बन्द भयो । पछिल्लो समय जंगल विस्तार वन्यजन्तुको संख्यामा पनि बढ्यो । पछि हिँडहुल कम भएपछि बाटोसमेत जीर्ण भएकाले पदयात्रीको संख्या न्यून छ । कोन्ज्योसोम काभ्रेको बेथानचोक बतासे गुम्बा हुँदै नारायण स्थानसम्म अर्को पदमार्ग पनि रहेको छ । त्यस्तै कोन्ज्योसोम डाँडाबाट महाँकाल गाउँपालिकाको कालेश्वर मन्दिरसम्म अर्को पदमार्गको पनि रहेको छ । धार्मिक एवम् पदयात्राका लागि काठमाडौँ उपत्यकामा नजिक रहेको यो ठाउँको प्रचारप्रसार नहुँदा ओझेलमा परेको स्थानीय बताउँछन् ।

Bhardeu village located in Lalitpur

कोन्ज्योसोम दक्षिण ललितपुरमा रहेको एक बहुआयामिक गन्तव्य हो, जसले धार्मिक शान्ति, प्राकृतिक सौन्दर्य र सांस्कृतिक अनुभव प्रदान गर्दछ । पदयात्रा, धार्मिक भ्रमण वा पर्यावरण पर्यटनमा रुचि राख्नेका लागि यो स्थानले आकर्षित गर्नेछ । भारदेउका स्थानीय युवा यतिबेला संस्कृति र पर्यटनलाई जोड्न कस्सिएका छन् । भाउदेउलाई आकर्षक गन्तव्य बनाउने योजनासाथ विभिन्न अभियान चलाइएको र त्यसमा स्थानीय तहले साथ दिँदै आएको वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष कुमार तामाङले बताउनुभयो ।

कोन्ज्योसोम पर्यटनको अवसर

काठमाडौं नजिकैको पर्यटन हब बन्ने सम्भावना रहेको यो क्षेत्रमा पदयात्रा र साहसिक पर्यटनको सम्भावना उच्च रहेको छ । तत्कालै पुराना पदमार्ग पुनर्जीवन गरेर आन्तरिक र बाह्य पर्यटक आकर्षण बढाउन सकिन्छ । तामाङ भाषा, संस्कृति, रैथाने खाना, चाडपर्वमार्फत ‘अथेन्टिक कल्चरल’ पर्यटन प्रवद्र्धनको ठूलो अवसर छ ।
कृषि पर्यटन र रैथाने उत्पादनलाई ब्रान्डिङ गर्दै थप रोजगारी आयआर्जनको माध्यम बनाउन ठूलो सम्भावना, धेरै हिमाल तथा तराई मधेसको देखिने हुँदा दृश्यावलोकन केन्द्रित पर्यटन, फोटोग्राफी र डिजिटल प्रमोसनमा अत्यन्त आकर्षक, होमस्टे पर्यटनको विस्तारयोग्य आधार हुने सम्भावना छ ।

चुनौती

कोन्ज्योसोम क्षेत्र सम्भावनायुक्त भए पनि यहाँका संरचनागत, व्यवस्थापकीय तथा पर्यावरणीय केही महत्वपूर्ण चुनौतीहरू छन् । अधिकांश सडक पूर्वाधार कच्ची हुँदा वर्षातमा बिग्रिएर पर्यटक आवागमन असहज हुनसक्छ । यातायातलाई सरल अझै सहज बनाउन विशेषण रणनीति आवश्यक छ । बाढी र पहिरो नियन्त्रणका लागि स्थानीय तहले दीर्घकालीन रणनीति बनाउन आवश्यक, पद मार्गहरूको पहिचान र आवश्यक पूर्वाधार निर्माण कम हुँदा क्षमता कमजोर बनाएको छ ।

आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना उच्च भए पनि व्यवस्थित पर्यटन व्यवस्थापन र पूर्वाधार निर्माणको अझै प्रारम्भिक चरणमै छ । सूचना केन्द्र, संकेत बोर्ड, पदमार्ग नक्सा र सुरक्षाका पूर्वतयारी पर्याप्त विकास गर्न बाँकी छन् । काठमाडौं नजिक भएर पनि प्रमोशन र ब्रान्डिङ का लागि धेरै काम गर्न बाँकी छ ।

प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू गुफा, डाँडा, झरना, धार्मिक क्षेत्र भिड तथा फोहोरले प्रभावित हुने जोखिम बढ्दै छ, जसले पर्यावरणीय संरक्षणलाई प्राथमिकता दिन दीर्घकालीन योजना निर्माण गर्न आवश्यक पारेको छ । त्यस्तै, स्थानीय होमस्टेहरूको सेवा गुणस्तर, व्यवस्थापन, सरसफाइ र तालिम, बसाइ तथा खानाको न्यूनतम मापदण्ड र स्थानीयबासीको सहभागिता बढाउन स्थानीय तहले प्रदेश र संघीय तहसँग समन्वय गरी दिगो र एकीकृत पर्यटन विकास योजना निर्माण गर्नुपर्छ।

समग्रमा काठमाडौं उपत्यकाको तीनवटै जिल्लाका साथै बागमती प्रदेशका अन्य जिल्लाका लागि पनि पायक पर्ने धार्मिक एवम् प्राकृतिक दृष्टिबाट आकर्षक कोन्ज्योसोम क्षेत्रलाई दीर्घकालीन रणनीति निर्माण गरेर अगाडि बढेको खण्डमा नयाँ पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढ्नेछ ।

तस्वीरहरु : लक्ष्मी प्रसाद ङाखुसी/ फोटोग्राफी नेपाल