अन्नपूर्ण फेदीको खयरबराह तालको सुन्दरता

470
Shares

म्याग्दी । उत्तर–पूर्वी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित पाउद्वारको खोप्रालेक क्षेत्रमा अवस्थित खयरबराह ताल धार्मिक पर्यटन आकर्षणको केन्द्र बनेको छ । समुद्री सतहदेखि ८ हजार ९१ मिटर उचाइको संसारको दशौं अग्लो चुचुरो अन्नपूर्ण हिमालको दक्षिणतर्फ फेदीमा रहेको यस तालमा पछिल्लो समय बढी नै पर्यटकहरु पुग्ने गरेका छन् ।


खयरबराह ताल आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । हिमालको दृश्य तालमा पर्नुले पनि यहाँ थप सुन्दरता झल्किन्छ । हिमालको फेदीमा अवस्थित खयरबराह तालको सुन्दरता र आकर्षणको बारेमा शब्दमा वर्णन गरेर सकिँदैन । यहाँ पुग्ने जो–कोही पनि तालनजिकै पुग्नेबित्तिकै मन्त्रमुग्ध हुन्छन् । लामो दूरीको उकालो हिँडेर थकित पाइलाहरु तालनजिकमा पुगेपछि त्यहाँ देखिने सुन्दर दृश्यले थकानलाई छिन्भरमै मेटाइदिन्छ ।

वरिपरिबाट पहाडले घेरिएको र बीचभागमा रहेको तालको पृष्ठभूमिमा देखिने हिमालको छाया थप रोचक र आकर्षक लाग्छ । यही दृश्यको कारणले गर्दा मानिसहरुको थकान, भोग र तिर्खा भुलाइदिन्छ । समुद्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइमा रहेको खयरबराह ताल झन्डै एक हजार वर्गमिटर क्षेत्रफलमा गोलाकाररुपमा फैलिएको अनुमान गरिएको छ । खयरबराह तालले धार्मिकसँगै प्राकृतिक सौन्दर्यताको हिसाबले समेत पर्यटकीय आकर्षणको सम्भावना बोकेको स्थानीयवासी बताउँछन् ।

खयरबराह तालदेखि तल भिरालो जमिनमा हरियाली फाँटका साथै चारैतिरको मनोरम दृश्यहरु नियाल्न पाइन्छ । खयरबराह ताल क्षेत्रको विकास गर्नका लागि स्वदेश तथा विदेशमा रहेका स्थानीय चन्दादाताहरुमार्फत आर्थिक सहयोग संकलन गरी आवश्यक पूर्वाधारको निर्माण गरिएको खयर क्षेत्रको विकासमा सक्रिय पाउद्वारका स्थानीयवासी लेफ्टिनेन्ट राजु पुनले बताउनुभयो । खयरबराह तालसम्म पुग्ने पदमार्ग, थकान मेट्ने चौतारी र आश्रयस्थल निर्माणमा पाउद्वारवासीले ठूलो लगानी गरेका छन् । पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाले पनि यस क्षेत्रमा पूर्वाधार निर्माणमा आवश्यक सहयोग गरेको छ ।

बेलायती सेनाबाट सेवानिवृत्त लेफ्टिनेन्ट पुनको पहलमा कुल एक करोड ६० लाख रुपियाँ चन्दास्वरुप सहयोग उठाएर यसअघि खयरभारानीको मन्दिर, चौतारी, पदमार्ग, आवास, सत्तल, शौचालयलगायत पर्यटनका पूर्वाधारहरु बनाइएको थियो । पर्यटकीय क्षेत्र खोप्रालेकदेखि खयरबराह तालसम्म पुग्नका लागि बीच–बीचमा पदमार्ग, चौतारी, खानेपानी र बास बस्ने ठाउँहरु निर्माण गरिएको छ । खयरखोलाछेउमा पर्यटकलाई बास बस्नका लागि चारवटा भवन, एउटा ठूलो किचन र शौचालय निर्माण गरिएको खयरभारानीथान तथा क्षेत्र संरक्षण कोषले जनाएको छ । खयरबराह तालमा खासगरी जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्दछ ।
अन्नपूर्ण र धौलागिरि रेन्जका अधिकांश हिमशृङ्खलाहरु देखिने खयर क्षेत्रमा अवस्थित खयरबराह तालमा पर्ने हिमालको प्रतिविम्बले पर्यटकलाई थप मोहित बनाउने गर्दछ । एकै दिनमा पटक–पटक परिवर्तन हुने मौसम र बादलको थुम्काले लुकामारी खेलिरहने यहाँको अर्को थप विशेषता रहेको छ । खयरबराह तालको दर्शन तथा भ्रमण गर्न पुग्नुभएकी आन्तरिक पर्यटक मनिषादेवी पौडेलले खयरबराह क्षेत्रमा आफूले प्रकृति र अध्यात्मको एकै साथमा अध्ययन गर्न पाएको अनुभव सुनाउनुभयो ।

खयरबराह ताललाई स्थानीयले खयरभारानीतालसमेत भन्ने गर्दछन् । प्रकृतिको दृश्यावलोकनसँगै खयरभारानीको आशिर्वाद लाग्ने भन्दै नेपाली र भारतीय तीर्थालु तथा तेस्रो मुलुकबाट समेत पर्यटकहरु यहाँ पुग्ने गर्दछन् । स्थानीय किंवदन्तीअनुसार बाराही माईका नौ बहिनीमध्ये खयरभारानीताल जेठी, पोखराको फेवातालको बीचमा रहेको तालबाराही माइली, अन्नपूर्ण–७ हिस्तानको घराम्दीस्थित पेरीभारानीताल साहिँली हुन् भनिछ ।

यसै गरी अन्नपूर्ण गाउँपालिकाको शिखमा रहेकी कान्छीभारानी, नागीको नागीभारानी, काफलडाँडाको मनिभारानी, खयर क्षेत्रमै रहेका गोर्सेभारानी र कान्छीभारानीसहितका तालहरु खयरभारानीकै बहिनीहरु रहेको स्थानीयवासीले बताउने गरेका छन् ।