आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी धरौटीमा रिहा भएका छन्।
गिरीलाई काठमाडौं जिल्ला अदालतले तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी धरौटी रकम तिरेर छुटेको प्रहरीले जनाएको छ।
गायिका नीतु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो। नितुले गत कात्तिक १ गते गायक तथा संगीतकार गिरीकै अनामनगरस्थित स्टुडियोमा शरीरमा पेट्रोल छर्किएर आत्महत्या प्रयास गरेकी थिइन्। गायिका पौडेललाई घटनापछि उपचारका निम्ति बर्न अस्पताल कीर्तिपुरमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएको थियो।
गायिका पौडेलेको परिवारले दुईबीच प्रेम सम्बन्धमा रहेको र बाबुलले विवाह गर्न आलटाल गरेपछि आत्महत्या गरेको आरोप लगाएका छन्। प्रहरी स्रोतका अनुसार गिरीले आफनो कतिपय गल्तीका कारण गायिका पौडेलले आत्मदाह गर्नु परेको बताएका थिए। बाबुल र नीतु केही समयदेखि प्रेममा थिए। प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै बाबुलले पश्चात्ताप गरेका थिए।











प्रतिक्रिया