काठमाडौं।
मार्क वाटको शतकको सहयोगमा कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल २) मा लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित हासिल गरेको छ।
शनिबार त्रिवि रंगशालामा भएको खेलमा लुम्बिनीले तेर्साएको १ सय ५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै केवल १ विकेटको क्षतिमा प्राप्त गरेको हो । ओपनर प्रियांक पाञ्चल १२ रन जोडेर ३८ स्कोरमा आउट भएपछि वाट र विलियम बसिस्टोले थप विकेट गुम्न दिएनन् ।
उनीहरूले दोस्रो विकेटका लागि नटआउट १ सय २३ रनको साझेदारी गरेका थिए । जसमा, बसिस्टोको योगदान मात्र २९ रन थियो, बाँकी सबै रन वाटले बटुलेका थिए । वाटले नटआउट रहँदैं ४४ बलमा १ सय १४ रन जोडेका हुन् ।
यसअघि लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । जसमा, कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरेपनि उनी १ रनले अर्धशतकमा पुग्न सकेनन् । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए । कर्णालीको बलिङमा नन्दन यादवले सर्वाधिक २ विकेट लिए ।
मार्क वाटका रेकर्डहरू
-उनको शतक जारी एनपीएल २ मा पहिलो र एनपीएल इतिहासमा अहिलेसम्म दोस्रो हो ।
-यसअघि एनपीएल १ मा पोखरा एभेन्जर्सका लागि एन्ड्रेस गसले १०४ रनको शतक बनाएका थिए ।
-उनले ४१ बलमा सय रन पूरा गरी कम बलमा शतक प्रहार गर्ने रेकर्ड राखे ।
-उनले ४१ बलमा १२ छक्का र ६ चौकाको सहयोगमा शतक प्रहार गरेर पहिलेको रेकर्डलाई ओझेलमा पारेका हुन् ।
-गत एनपीएल १ मा एन्डे«स गसले लुम्बिनी लायन्सविरुद्ध ५५ बलमा शतक प्रहार गरेका थिए ।
-२९ बलमा अर्धशतक बनाएका उनले आक्रमक ब्याटिङ गर्दैं अर्को ५० रन १२ बलमै बटुले ।
-उनले लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको एकै ओभरमा लगातार ४ छक्का प्रहार गरे ।
-११४ रन जोड्दै उनी एनपीएल इतिहासमा व्यक्तिगत उच्चतम रन बनाउने खेलाडीसमेत बने ।











प्रतिक्रिया