प्रधानमन्त्रीलाई लक्षित गर्दै बस्नेतको व्यंग्य: ‘वृद्ध पतिको सेवा गर्नुस्’


काठमाडौँ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई निकट भविष्यमै पदबाट हटाएरै छोड्ने दाबी गरेका छन्।

शुक्रबार पार्टीको नेसनल भोलेन्टियर फोर्स घोषणा सभामा बोल्दै बस्नेतले प्रधानमन्त्री कार्कीमाथि टिप्पणी गर्दै रिटायर्ड जीवन त्यागेर राजनीति गर्न आएको आरोप लगाए।

बस्नेतले कार्यक्रममा भने, “आजको हाम्रो मार्चपासले भोलिको प्रदर्शनको संकेत दिएको छ। भोलि हामीले गर्ने मुख्य काम सुशीला आमालाई राजनीतिक जीवनबाट टाटाबाई गर्नु हो। छोराछोरीसँग बेलायत गएर उपचार गरी सुन्दर रिटायर्ड जीवन बिताउनुस्, वृद्ध पतिको सेवा गर्नुस्। राजनीतिक नेतृत्व राजनीतिक दलका नेताले गर्ने हो।”

उनले २–३ दिनभित्र प्रधानमन्त्रीले राजीनामा नदिए पार्टीको भोलेन्टियर फोर्सले “आवश्यक कदम चाल्ने” चेतावनी पनि दिए।

प्रधानमन्त्रीको शारीरिक अवस्थामाथि टिप्पणी गर्दै उनले प्रधानमन्त्रीलाई आराम गर्न सुझाव दिए। “उहाँ खुट्टा खोच्याउँदै हिँड्नुहुन्छ। आराम गर्नुस्। केपी ओलीले भनेअनुसार अब संसद् पुनर्स्थापना गर्दै विधि र सुशासनलाई सही ट्रयाकमा ल्याउन फोर्सले काम गर्नेछ,” बस्नेतले भने।