काठमाडौं।
डिजिटल प्रविधिले नेपालमा खेलकुद अनुभव गर्ने तरिका पुरै बदलेको छ । रेफ्रीले खेल सुरु गर्न अगाडि अथवा बलरले बल फ्याँक्न दौडिनुअघि नै, नेपाली फ्यानहरू टिकटकमा प्रतिक्रिया दिइरहेका हुन्छन् । नतिजा अनुमान गरिरहेका हुन्छन् र खेलाडीको उत्साह बढाइरहेका हुन्छन् । आजभोलि खेलको माहोल दुई फरक ठाउँहरू मैदान र मैदानबाहिरको डिजिटल संसारमा, जहाँ हजारौँ मानिसहरू हाइलाइट, डुएट, मीम र लाइभ रियाक्सनमार्फत एकैठाउँमा भेला हुन्छन् ।
टिकटकले नेपालीहरूको खेल हेर्ने तरिका मात्र बदलेको छैन, खेल हेर्नुको वास्तविक अर्थ नै फेरिदिएको छ । धेरै फ्यानका लागि टिकटक खेलमा सहभागी हुने सबैभन्दा छिटो बाटो पनि बनेको छ । टिभी च्यानलमा पर्खिएर बस्न वा युट्युबमा लामो रीक्याप हेरेर बस्नु भन्दा खेलका रमाइला क्षणहरू उनीहरूको फर यू पेजमा तुरुन्तै देखा पर्छन् । खेल बदल्ने छक्कादेखि लिएर खेलका तनावपूर्ण क्षणहरूसम्म, सबै कुरा छोटो, छरितो क्लिपमा देखिन्छ जुन आजका व्यस्त नेपाली दर्शकहरूका लागि बिल्कुलै सान्दर्भिक छ । लाइभ खेल हेर्न छुटाएकाहरूले पनि टिकटककै कारण खेलका सबै उत्कृष्ट क्षणहरू प्रत्यक्ष हेरेर्झें अनुभव गर्न सक्छन् ।
तर टिकटकको सबैभन्दा ठूलो शक्ति भनेको साधारण फ्यानलाई नै क्रिएटर बनाइदिने क्षमता हो । ठूला खेलहरूको बेला नेपाली टिकटक एक विशाल डिजिटल रंगशाला जस्तै बन्न पुग्छ । मानिसहरू परिवारसहित खुसी साटिरहेका हुन्छन्, खेलाडीले मौका मिस गर्दा निराशा पोखिरहेका हुन्छन्, जितमा उत्सव मनाइरहेका वा ट्रेन्डिङ साउन्डमा नाचेका भिडियो पोष्ट गरिरहेका हुन्छन् । यी एकदम वास्तविक भावनाले भरिएका भिडियोहरू धेरैजसो भाइरल हुन्छन् किनकि सबैले त्यही प्रकारको अनुभूति गरिरहेका हुन्छन् । अब फ्यानहरू चुपचाप खेल हेरेर मात्र बस्दैनन्, उनीहरू खेलको कथाकै हिस्सा बन्न पुग्छन् ।
मीमहरूले यो संस्कृतिमा छुट्टै स्वाद थपिदिएका छन्। मैदानमा केही रमाइला, अनौठा वा अप्रत्याशित घटना भएलगत्तै टिकटकले त्यसलाई ट्रेन्डिङ जोकमा बदलिदिन्छ । फिल्डिङमा हुने गल्ती, नाटकीय डाइभ, दोधारमा परेका रेफ्री, जीतको उत्सव मनाएका क्षणहरू सबै कुरा केही मिनेटमै मीम बनिसकेका हुन्छन् । विशेषगरी युवा फ्यानका लागि, यी मीमहरूले खेलको जोश खेल सकिएपछि पनि लामो समयसम्म जीवित राखिदिन्छन् ।
टिकटकले डिजिटल एजमा वाच पार्टीलाई पनि नयाँ रूप दिएको छ । ठूला खेल हुँदा क्रिएटरहरू लाइभ जान्छन्, जहाँ उनीहरू कमेन्ट्री गर्छन्, हाँसो ठट्टा र रियल टाइम रियाक्सन पनि दिन्छन् । कमेन्ट सेक्सनमा सयौँ दर्शक जोडिन्छन् जहाँ उनीहरू चौका, छक्कामा उत्साहित हुन्छन्, रेफ्रीका निर्णयमा बहस गर्छन्, अथवा सँगै बसेर केवल खेलमा रमाइरहेका पनि हुन्छन् । स्टेडियम जान नसक्ने वा साथीहरूसँग खेल हेर्न नपाउनेहरूका लागि यी डिजिटल वाच पार्टीले सामुहिकताको भावना प्रदान गर्दछ ।
पछिल्ला केही वर्षमा टिकटकले नेपालमा खेलकुदको संस्कृति नै बदलिदिएको छ । अब खेल हेर्नु अझै छिटो, सामाजिक, भावनात्मक र निकै इन्टरएक्टिभ बनेको छ । हाइलाइट, रियाक्सन, मीम र लाइभस्ट्रीम, यी नै नेपाली युवाहरू खेलसँग जोडिने मुख्य माध्यम बनिसकेका छन् । र टिकटक अझै फैलिँदै जाँदा, एउटा कुरा स्पष्ट छ, अब खेल केवल हेरिने कुरा मात्र रहेन, यो त अनुभव गर्ने, पुनर्ताजगी गर्ने र एकै स्वाइपमा यसको रौनक एक अर्कासँग बाँड्ने कुरा बनिसकेको छ ।











प्रतिक्रिया