गुन्डु–भेट र मनमा उद्वेलित तरंग

1.22k
Shares

काठमाडौँको बागबजारबाट कोटेश्वरसम्मको यात्रा तय गरिरहँदा मनमा एकप्रकारको पीडा र आँतेसको बाडुल्की मडारिरहेको थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) जस्ता महत्वपूर्ण निकाय आगोका लप्काले बिटुल्याएको दृश्य उराठ लाग्दो थियो । जेनजी आन्दोलनपछि भएको वर्षाले धेरै पटक पखालिएको भए पनि मनको अन्तर–कुन्तरमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडक कलिला विद्यार्थीको रगतका टाटाले कटकटिएझैँ लागिरहेको थियो ।

तिहारको टीकालगत्तै उराठिला परिदृश्यको सम्मुखबाटै मनमा उद्वेलित तरङ्गलाई जोड्दै–जोड्दै म भक्तपुरको गुन्डुमा रहेका एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाँदै थिए । माहौल नै यस्तो बनाइएको छ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नु अपराध हो । काठमाडौँका सडकमा कटकटिएका रगत र भग्नावशेष भवनहरुको एकमात्र कारक केपी शर्मा ओली हुन् । प्रहरीको हातै समाएर केपी शर्मा ओलीले गोली हान्न लगाएका हुन् । भवनहरुमा आगो झोस्ने पनि केपी ओली नै हुन् । यी र यस्ता बेतुकका आरोपको भाष्य स्थापित गर्न फरक पार्टी मात्र हैन एमालेकै असली भनिने कतिपय नेता–कार्यकर्ता पनि उद्यत छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएका हत्या र आगजनीको नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीको हैसियतले केपी शर्मा ओलीले पनि लिनुपर्छ भन्ने कुरामा म स्पष्ट छु । केपी शर्मा ओलीको केही स्वभाव–शैलीसँग मेरो पनि असहमति छ । तर जेनजी आन्दोलनको दोषी केपी शर्मा ओली मात्र हैनन् । मुलुकको विकास र समृद्धिको सपना अनि योजना भएका नेता केपी शर्मा ओली नै हुन् भन्ने कुरामा म स्पष्ट छु । राष्ट्रियताको सवालमा केपी शर्मा ओलीको चट्टानी अडानसँग म नतमस्तक छु ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका सबै विध्वंसको दोष केपी शर्मा ओलीलाई थोपरेर सत्ता साझेदारी गर्ने, अवसरको दुरुपयोग गर्ने, शक्तिमा हुँदा ढोके र हुक्के बन्दै अघिपछि गर्ने पृष्ठ भूमिका सुन्ड–मुसुन्डहरुचाहिँ सरक्क पन्छन् मिल्छ ? यो त राजनीतिक बेइमानी मात्र हो । अहिले त्यही राजनीतिक बेइमानीकै कारण जेनजी आन्दोलनको चक्रव्युहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोडेर अरु सबै पाखा लागेका छन् ।

सत्य, तथ्य र निष्पक्षको अकाट्य सिद्धान्तका अनुयायी पत्रकार र केही ठूला भनिएका मिडिया हाउसहरु पनि छानबिन आयोगको प्रतिवेदनसमेत पर्खन नसक्ने तहमा पुगेर भीडको आश वा त्रासमा केपी शर्मा ओलीलाई नै पूर्णरुपमा दोष दिइरहेका छन् । जेनजी आन्दोलनका अभियन्ताहरुले उठाएको मुख्य माग सुशासन हैन ? मुलुकलाई भ्रष्टाचारको दलदलमा होम्ने काम कहिलेदेखि भएको हो ? यसको कारक नेता, कार्यकर्ता, कर्मचारी, सामाजिक अभियन्ता को–को छन् ? खोजी हुनुपर्छ कि पर्दैन ? भदौ २३ र २४ गतेको विध्वंसात्मक विष्फोटनको पृष्ठभूमिमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादी, रास्वपा, राप्रपा सबै समावेश छन् ।

राणा शासन र पञ्चायती व्यवस्थालाई छोड्ने हो भने पनि २०४६ सालपछिका हरेक सरकारमा अहिलेका दरिएका दलमा आबद्ध नेता–कार्यकर्ताले नै तर मारेको देखिन्छ । पृष्ठभूमिमा कर्मचारी, पत्रकार, गैरसरकारी संघसंस्था, उद्योगी–व्यवसायीहरुको समेत प्रतिनिधित्व भएकै हो । अनि मुलुकमा सुशासन कायम गर्न अघिल्ला सरकारले गरेको गैरकानुनी कामको छानबिन हुनुपर्छ कि पर्दैन त ? कि केपी शर्मा ओली र रमेश लेखकलाई दोष थोपरेर बाँकी सबैलाई शुक्राचार्य ऋषिको कुण्डमा रहेको अमृत छर्किई आजाद गरिदिने हो ? सवाल त अहिलेको जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीहरुको बारेमा पनि उठेको छ ।

अहिले केपी शर्मा ओलीलाई दोषारोपण गर्ने हुलमा जेनजी अभियानका अभियन्तापछि एमालेकै अधिकांश नेता–कार्यकर्ता मिसिएका छन् । अन्य राजनीतिक दल र जेन–जी उमेर समूहका केही युवाहरुले समेत राष्ट्रिय अखण्डता र विकासका लागि केपी शर्मा ओलीसमेतको सहमति र सहकार्यमा राजनीतिक कोर्स अघि बढ्नुपर्छ भनिरहँदा एमालेका यी तरमारा नेता–कार्यकर्ताको आरोपसहितको तर्क, बहस र विवादको तुक कति ? भन्ने मापनको बेला भएको छ ।

समयक्रममा मुलुक राजनीतिक खिचातानी, भ्रष्टाचार, नातावाद, कृपावाद, शक्तिको दुरुपयोगजस्ता बेथितिको अवस्थामा पुगेकै हो । धेरै नेपालीले विश्वास र भरोसा गरेको मुख्य राजनीतिक दलका नेताहरुले यो कुरालाई मलजल पुग्ने गरी गतिविधि गरेकै हुन् । तर यसको दोषी केपी शर्मा ओली मात्र होनन् ।

केपी शर्मा ओलीलाई दोषी र निरंकुश देख्ने एमालेका नेता–कार्यकर्तालाई थाहा छ, पार्टीको सचिवालयमा कतिजना नेताले ओलीको गतिविधि र कार्यशैलीको विरोध गरे वा असहमतिमा राजीनामा गरे, कतिजनाले गल्ती–कमजोरी आँैल्याउँदै आलोचना र सुझाव दिए । ओली शक्तिमा हुँदा विरोधको बोली नफुटाउने, बरु आफ्नो दुनो सोझो पार्न थप उत्तेजित बनाउने नेताजनले अहिलेचाहिँ ओरालो लागेको मृगलाई खेदेझैँ सामाजिक सञ्जालमा तथानाम फुदा–टुक्का अलाप्नुको कुनै अर्थ रहँदैन ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न दुःखद सङ्कटको दोषी, ओलीलाई खेद्ने नाममा सामाजिक सञ्जालमा फुदा–टुक्का अलाप्ने र परिस्थितिलाई थप उत्तेजित बनाउने एमालेकै धेरै नेता–कार्यकर्ता पनि हुन् । आफूलाई अब्बल ठान्ने पत्रकार र केही ठूला मिडिया हाउसहरु पनि हुन् । नेपाली भनाइ हेक्का राखौँ– एउटा औँलाले अरुलाई देखाउँदा चारवटा औँला आफैँतिर तेर्सिएको हुन्छ ।

२०४६ सालयताका हरेक घटनाको निष्पक्ष छानबिन गर्न शक्तिशाली आयोग गठन गरौँ । दोषी देखिए केपी ओली पनि सजायको भागिदार हुनुपर्छ, हैन भने धमिलो पानीमा माछा मार्न छोडेर म र मेरो स्वभाव कस्तो छ, यसले सुशासन र विकास अभियानमा फाइदा–बेफाइदा के छ स्वमूल्याङ्कन गरौँ । असल स्वभावलाई निरन्तरता दिँदै, खराब स्वभाव परित्याग गरौँ । सुशासन कायम गर्न अरु केही गर्नै पर्दैन ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तिहारलगत्तै भएको भेटमा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे र युवा व्यवसायी श्यामसुन्दर शिवाकोटी पनि सँगै थिए । भेटमा मैले राजनीतिक कुरा गरिन, जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको बारेमा पनि छलफल भएन । किनभने म यो विषय केपी शर्मा ओलीसँग मात्र जोड्न चाहन्न । यो विषयको बहस हामीले मुख्य दलका शीर्ष नेतृत्वसँग गर्न जरुरी छ । घटनाको पृष्ठभूमिमा केपी शर्मा ओली देखिएको भए पनि पानीको मुहान धमिलो पार्न नेता–कार्यकर्ता, हामी सबै संलग्न छौँ ।

मैले अध्यक्ष ओलीसँग दोलखाको सांस्कृतिक पर्यटकीय केन्द्र भीमेश्वर, कालिञ्चोक, महाङ्काल भगवती, देउलाङ्गेश्वर महादेव, गाईखुरा महादेव, त्रिपुरासुन्दरीलगायतको बारेमा चर्चा गरेँ, प्राकृतिक केन्द्र चरिकोट, जिरी, शैलुङ, ऐतिहासिक दोलखा शहर, च्छोरोल्पा हिमतालको विषयमा बहस गरेँ, चीनसँगको फलाक र लप्ची नाका, हाइड्रोपावर, वन पैदावरको विषयमा कुराकानी गरेँ । किनभने उनले राजनीतिभन्दा विकासको बारेमा चासो दिएका थिए ।

मैले ओलीसँगको भेटको फोटो सामाजिक सञ्जालमा राखेको छु । धेरैले भेटलाई सकारात्मक ठानेका छन् । केहीले आलोचना पनि गरेका छन् । म दुवै कुराको सम्मान गर्छु । मेरो भेट कुनै स्वार्थप्रेरित होइन । उनी प्रधानमन्त्री भएको बेला मैले भेट्न चाहिन । भेट्न चाहेको भए पनि त्यो बेला शायद मेरो पहुँच पुग्दैनथ्यो होला । भेट्न किन चाहिन भने, मलाई कुनै स्वार्थ लिनु नै थिएन । जसले भेटे, जसले स्वार्थ पूरा गरे, उनीहरुले नै ओलीको सार्वजनिक आलोचना गरे । आगोमा घिउ थपे । त्यति बेला जसले भेटेनन् वा भेट्न पाएनन्, उनीहरु अहिले भेटिरहेका छन् । पछिल्लो परिघटनामा ओली मात्र दोषी होइनन् भनेर प्रतिरक्षा गरिरहेका छन् । यही हो सत्यको लडाइँ ।

म जेनजी पुस्ताको कदर गर्छु । उनीहरुले उठाएको सुशासन, भ्रष्टाचारको अन्त्य, सामाजिक सुरक्षाजस्ता विषयको सम्मान र समर्थन गर्छु । भदौ २३ र २४ को अत्यास लाग्दो घटनाको आलोचना र भत्र्सना गर्छु । मानव हत्या र सरकारी तथा सार्वजनिक सम्पत्तिको नोक्सानी गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने विषयमा एकमत छु । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै दोष थोपरेर घटनाको निष्पक्ष छानबिन हुन्छ र परिणाममुखी नतिजा आउँछ भन्ने कुरामा म सहमत छैन । पछिल्लो बेथितिको सटिक र सत्य नतिजा खोज्ने हो भने राज्यको सबै तह, राजनीतिक दलको नेतृत्व तथा विभिन्न सामाजिक संस्था, सार्वजनिक जिम्मेवारीमा रहेका हरेक नागरिकलाई केन्द्रमा राखेर छानबिन गर्नुपर्छ भन्ने मेरो अकाट्य मत छ ।