मनबिनाको धन कतार, युएई र बहराइनमा पनि


बाल गायक अशोक दर्जीको सपना, संघर्ष, करियर र सफलताको कहानीमा आधारित फिल्म मनबिनाको धन नेपालसगै गत बिहीबारदेखि कतार, युएई र बहराइनमा पनि रिलिज भएको छ।

कतारमा फिल्मले बिहीबार र शुक्रबार पाएको दुई शो नै हाउसफुलको व्यापार गरेको यसको निर्माण संस्थाले जनाएको छ। मनबिनाको धन कतारमा दुई शो नै हाउसफुल हुने पहिलो फिल्म बनेको वितरकले दाबी गरेका छन्। हरि मोक्तान, कृष्ण भट्टराई र साथीभाइ इन्टरटेन्मेन्टले कतार, युएई र बहराइनमा फिल्मको वितरण जिम्मा लिएका हुन्। फिल्मले युएई र बहराइनमा समेत राम्रो व्यापार गरेको उनीहरूले बताएका छन्।

नेपालभरका हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको फिल्मले नेपाली बक्स अफिसमा पहिलो हप्तामा एक करोड ६७ लाख बढीको व्यापार गरेको जनाइएको छ।
चाडै नै साउदी अरब, कोरियालगातका देशमा रिलिज हुने फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको हो।