– शेख हसिनालाई तत्काल हस्तान्तरण गर्न माग
–भारतले दिएन जवाफ
काठमाडौं।
बंगलादेशका सत्ताच्युत प्रधानमन्त्री शेख हसिना वाजेदलाई गत वर्षको कोटा सुधार आन्दोलन दमनका क्रममा भएको व्यापक हत्याकाण्डमा ‘मानवताविरोधी अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ ।
बंगलादेशको विशेष अदालत अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले सोमबार भारतमा निर्वासित ७७ वर्षीय पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हो । उहाँसँगै तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुनलाई पनि मृत्युदण्डको सजाय तोकिएको छ । तीनै जनालाई हत्या, हत्या प्रयास, यातना र घातक हतियार प्रयोग गर्न प्रत्यक्ष आदेश दिएको अभियोगमा दोषी ठहर गरिएको हो ।
अदालतले भारतमा निर्वासित हसिनाको अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको हो । छवटा मुख्य भाग रहेको ४५० पृष्ठ लामो फैसलामा न्यायाधीशहरूले भिडिओ फुटेज, फोन कलका अडिओ रेकर्ड, मृतक परिवारका बयान, प्रकाशित समाचार र विभिन्न प्रमाणलाई आधार मानेका छन् । तत्कालीन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुन भने फैसला सुनाउँदा अदालतमा उपस्थित हुनुहुन्थ्यो । उहाँले गत जुलाइमै आफ्नो अपराध स्वीकार गरेर राज्यका तर्फबाट साक्षी बस्नुभएको थियो । मृत्युदण्डको फैसला सुनाइएका तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल पनि हसिनासँगै देश छाडेर भारततर्फ भाग्नुभएको बताइन्छ । उहाँ अहिले भूमिगत हुनुहुन्छ ।
फैसला सुनाउँदै इजलासका अध्यक्ष न्यायाधीश अबु अहमद जमादारले शेख हसिनासहितका पदाधिकारीले ‘योजनाबद्ध रूपमा प्रदर्शनकारीमाथि आक्रमण गर्न आदेश दिएको’ विस्तृत विवरण पढेर सुनाउनुभएको थियो । मृत्युदण्डको घोषणासँगै अदालत कक्षमा उपस्थित मृतकका आफन्त, वकिल र पत्रकारहरूले ताली बजाएर खुशी व्यक्त गरेका थिए भने अदालतबाहिर भेला भएका सयौं सर्वसाधारणले ‘फाँसी दे ! फाँसी दे !’ का नारा लगाएका थिए ।
अदालतको फैसलापछि बंगलादेशको अन्तरिम सरकारले भारतसँग शेख हसिनालाई तत्काल हस्तान्तरण गर्न आग्रह गरेको छ । यद्यपी भारतले यसबारे कुनै जवाफ दिएको छैन । भारतको विदेश मन्त्रालयले भने एक वक्तव्य जारी गरी हसिनाविरुद्धको अदालतको फैसलालाई भारतले जानकारीमा राखेको र भारत बंगलादेशका जनताको सर्वोत्तम हितप्रति सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
आईसीटीले फैसला सुनाउनुभन्दा केही घण्टाअघि हसिनाका पिता बंगबन्धु शेख मुजिबुर रहमानको पुरानो निवास धनमण्डी–३२ मा पुगेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले स्टन ग्रिनेड र अश्रुग्यास प्रहार गरेको थियो । उक्त स्थान हसिना परिवारको प्रतीकात्मक केन्द्र मानिन्छ । बंगलादेशको संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानकी जेठी छोरी हसिना स्वतन्त्र बंगलादेशको इतिहासमा सबैभन्दा लामो समय अर्थात २० वर्षभन्दा बढी सत्ता चलाउने नेता हुनुहुन्छ ।
विशेष अदालतको फैसलापछि हसिनाले भारतबाटै पाँच पेज लामो विज्ञप्ति जारी गर्दै फैसलालाई ‘पूर्वाग्रही, राजनीतिक प्रतिशोधपूर्ण र पूर्ण रूपमा अवैध’ भएको बताउनुभएको छ । उहाँले अन्तरिम सरकारमाथि अवामी लिगलाई ‘राजनीतिक रूपमा समाप्त पार्ने षड्यन्त्र’ गरेको आरोप पनि लगाउनुभएको छ ।
गत वर्ष बंगलादेशमा कोटा सुधारविरुद्ध विद्यार्थीले सन् २०२४ को जुलाइमा सुरु गरेको आन्दोलन चर्किंदा सरकारले कडा दमन गरेको थियो । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार उक्त दमनमा १४सयभन्दा बढीको ज्यान गएको थियो । आन्दोलन उत्कर्षमा पुग्दा अगस्ट ५, २०२४ मा शेख हसिना सत्ता छोडेर भारततर्फ भाग्नुभएको थियो । त्यसपछि सेनाको सहयोगमा बंगलादेशमा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।











प्रतिक्रिया