खिया लाग्दै गएको ‘नेता’ शब्द

846
Shares

कुनै पनि भाषाको शब्दकोशमा भएका हजारौँ वा लाख शब्दमध्येका सबै शब्दको महत्व कम–बेसी नभएर बराबर नै हुन्छ । तर समयअनुसार कुनै नयाँ शब्दले सोही अर्थ परिमार्जित रुपमा बोकेर आएको खण्डमा पुरानो शब्दलाई विस्थापितसमेत गरिदिन सक्छ । शब्दकोशमा भएका सबैजसो शब्दमध्ये खराब प्रयोग गराइका कारण कुनै–कुनै शब्दमा बिस्तारै खिया लाग्न र चमक हराएर जान थाल्छ । बृहत् नेपाली शब्दकोशमा नेता शब्दका चार अर्थ खुलाइएका छन् ।

पहिलो नम्बरमा नेता शब्दलाई नाटक, महाकाव्य आदिको प्रमुख पात्रको रुपमा लिइएको छ । दोस्रो वा दुई नम्बरको अर्थमा नायक वा मालिक भनिएको छ । तेस्रो अर्थमा राजनीतिक दल वा समुदायलाई असल बाटो देखाउने व्यक्ति, समाजमा नेतृत्व दिन सक्ने व्यक्ति, अगुवा वा नाइके भनेर मानिएको छ । चौथो नम्बर अर्थमा लैजाने वा बाटो देखाउने व्यक्ति भनेर उल्लेख भएको छ । यी चार अर्थमध्येका कुनचाहिँ अर्थसँग हाम्रो देशका नेता भनाउँदाका व्यवहार मिल्लान् त ? भनेर विचारमा घोत्लन अनि यिनका व्यवहार हेर्ने र सम्झने हो भने करिब कुनै पनि अर्थले ठ्याम्मै मेल खाएको पाइँदैन ।

यी चारै अर्थलाई गहन विश्लेषण गरेर अर्थ पर्गेल्न खोज्दा हाम्रो देशको राजनीतिमा लागेका भनिएका कोही पनि नेताले अभिनय क्षेत्रका महानायक मानिने राजेश हमालको स्थान लिन सक्दैनन् भने नाटक तथा महाकाव्यका नायक पात्रका रुपमा यिनको नामै नलिए हुन्छ । रामायणका महानायक पात्र रामचन्द्र, महाभारतका नायक पात्र श्रीकृष्ण हुन् कि नाटककार बालकृष्ण समले रचना गर्नुभएको नाटक मुकुन्द इन्दिराको नायक पात्र मुकुन्द हुन्, हाम्रा कोही पनि नेता ती नायक पात्रको खुट्टो बन्न सुहाउने पात्र पनि छैनन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गर्नुभएको शाकुन्तल महाकाव्यका नायक पात्र राजा दुष्यन्त जतिको सामथ्र्य यिनमा हुने हो भने त यिनी रामायणका खलनायक पात्र रावणभन्दा पनि अधिक अहंकारी बन्ने थिए ।

बृहत् नेपाली शब्दकोशको नेता शब्दको तेस्रो अर्थ भनेको कुनै राजनीतिक दल वा समुदायलाई असल बाटो देखाउने व्यक्ति भन्दै समाजमा नेतृत्व दिन सक्ने अगुवा वा नाइके भनेर खुलाएको अर्थमा पनि हाम्रा नेतालाई नेताको दर्जा दिइएको सुहाउँदो तरिकाले मिलेको छैन । कुनै राजनीतिक दललाई असल बाटोमा हिँडाउने भन्नासाथ राजनीतिमा लागेका भनिएका हाम्रा नेता अलग भइजान्छन् । बरु त्यसको साटो खराब बाटो देखाउने व्यक्ति भनिएको भएचाहिँ ठ्याम्मै मिल्ने थियो । समाजमा नेतृत्व दिन सक्ने भन्ने भनाइ थोरैचाहिँ सुहाउँदो भए पनि केवल जनता झुक्याएर मात्रै हो नत्र सही नेतृत्व दिन सक्ने क्षमता नभएकै मान्नुपर्छ । यदि हाम्रा कोही पनि नेता भनिएका व्यक्तिहरुमा त्यो क्षमता हुन्थ्यो भने हाम्रो देशको राजनीति विदेशीको इशारामा नचलेर हाम्रै सुझबुझ र क्षमतामा चलेको हुनुपर्ने थियो । तर जनताले चाहेअनुसारको राजनीति गर्ने क्षमता हाम्रा नेता खासै कसैमा पनि छैन होला ।

चौथो नम्बरको अर्थमा लैजाने वा बाटो देखाउने व्यक्ति भनिएको छ । हाम्रो देशको अहिलेसम्मको राजनीतिमा लागेका कसैले पनि राजनीतिलाई सही बाटोमा लैजान खोजेको पाइँदैन ।

देशको अहिलेसम्मको राजनीतिमा लागेका कसैले पनि राजनीतिलाई सही बाटोमा लैजान खोजेको पाइँदैन । राजनीतिलाई सही बाटोमा लैजाने भनेको समग्र देशको भलाइ हुने काममा लगाउन र लाग्न खोज्नु भनेको हो । राजनीतिमा समर्पित भएर लागेका भनिएका हाम्रा मान्छेले देशको भलाइका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा डुबुल्की मारेर देश डुबाउने खेलमा लागेकाले देशको अवस्था बिग्रँदै गएको हो । यसरी देशको माया नगर्ने व्यक्ति जोसुकैलाई नेताको सम्मानित पदीय शब्दले सम्बोधन गरिनु अब कता–कता आत्मग्लानि हुने विषय बन्दै जान थालेको छ । यसै आत्मग्लानिले गर्दा नेता शब्दमा बिस्तारै खिया लागेको जस्तो अनुभूत हुँदै छ ।

राजनीतिलाई सही बाटोमा लैजाने भनेको समग्र देशको भलाइ हुने काममा लगाउन र लाग्न खोज्नु भनेको हो । राजनीतिमा समर्पित भएर लागेका भनिएका हाम्रा मान्छेले देशको भलाइका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा डुबुल्की मारेर देश डुबाउने खेलमा लागेकाले देशको अवस्था बिग्रँदै गएको हो । यसरी देशको माया नगर्ने व्यक्ति जोसुकैलाई नेताको सम्मानित पदीय शब्दले सम्बोधन गरिनु अब कता–कता आत्मग्लानि हुने विषय बन्दै जान थालेको छ । यसै आत्मग्लानिले गर्दा नेता शब्दमा बिस्तारै खिया लागेको जस्तो अनुभूत हुँदै छ ।

नेता तथा राजनेता भन्ने उच्च सम्मानित सम्बोधनको यो शब्दले दक्षिण अफ्रिकाका सम्मानित तथा आदरणीय, स्वर्गीय नेता नेल्सन मण्डेलालाई सम्बोधन गर्दा मात्र सुहाउने शब्द हो । भारतका नरेन्द्र मोदीले भारतवर्षमा निकै लामो समय शासन चलाइसके र पनि उनी खासमा नेता वा राजनेता हुनलायकका भइसकेका छैनन् । केवल विगतका शासकका तुलनामा उनले केही सुधारका काम गरेकै हुन् तर हामीले राजनीतिक नेतृत्वको नाममा धन र उच्च पदको दुरुपयोग गर्दै निर्दोष देशवासी जनतामाथि गोली ठोक्न लगाएर निर्ममताका साथ मार्न लगाउने अपराधीलाई होस् कि विदेशीसँग स्वदेशलाई दलदलमा डुबाउने खालका सम्झौता गर्न कति पनि नचुक्ने देशघाती व्यक्तिलाई होस्, नेता र अझ बढ्दै गएर राजनेताको सम्मानित पद दिएर तदनुसारकै सम्मानको भाव पनि प्रकट गर्दै रहेका छौँ । राजनीतिमा लागेर कुनै उदाहरणीय र धेरै समयसम्म सम्झनलायकको काम गर्न सकेका भए उनीहरूलाई नेता भनेर सम्बोधन गर्न अनि आदरको भाव प्रकट गर्न कुनै हिच्किचाहट हुने थिएन ।

आफ्नो मातृभूमि अनि आफ्ना प्यारा प्रजालाई अनिकाल र महामारीको चपेटाबाट जोगाउनको लागि हलो जोत्न तयार हुने राजा जनक, काला जातिका नागरिकलाई पनि गोरा जातिका शासक वर्गले भोग गर्ने सुविधाको अंशियार बनाउन ज्यान छोडेर लागिपर्ने नेल्सन मण्डेला प्रवृत्तिका आदर्श व्यक्तिको लहरमा हाम्रा कोही पनि नेता उभिन सक्ने हैसियतका बन्नै सकेका छैनन् र पनि आम जनताले आफ्नो चित्त नबुझेरै पनि नेताको सम्बोधनले सम्मान गर्नुपरेको छ ।
गत भदौ महिनाको २३ र २४ गतेको जेन्जी समूहको कडा आन्दोलन वा विद्रोहपछिका दिनमा सेनाको सहयोगमा भागेर आफ्नो ज्यान जोगाउने उद्यममा लागेका ती राजनीतिककर्मीहरु आज आएर पुनः आफूलाई महान् नेताको रुपमा चित्रण गरेर थाकेका छैनन् ।

राजनीति के हो भनेर राजनीतिको र नजान्ने, केवल जनता अनि देश लुटेर आफू कसरी धनी बन्ने भन्ने ध्याउन्नमा लागी अनेक थरीका कुकर्म गर्न पनि नहच्कने ती व्यक्तिहरूलाई नेता भनिनु र भनाउनुपर्ने एकथोपो पनि आधार वा धरातल रहेको छैन । आम नेपालीका नजरले हेर्ने हो भने तिनीहरु केवल देश लुट्ने हुँडारको समूहसँग तुलना गर्नलायकका पात्र हुन् । उनीहरूमध्येका करिब ९५ प्रतिशत व्यक्तिको मनमा देश र जनताप्रतिको माया–मोह एकथोपो पनि छैन । विदेशीको किनेको दास बनेर त्यसैमा अभ्यस्त भएका ती व्यक्तिलाई नेताको पद दिनु र नेता भनेर सम्बोधन गरिनु ज्यादै नसुहाउने विषय हुनेछ । नेल्सन मण्डेलासँग केपी ओली हुन् कि प्रचण्ड वा शेरबहादुर जोसुकै हुन्, तिनीहरुको तुलना गर्न सकिने एउटा पनि विन्दु रहेकोे छैन ।

नेपालको हालको राजनीतिक अवस्थाको विश्लेषण गर्दा के देखिन्छ भने, ती पुराना राजनीतिक दलका पुरानै विचारधाराका जो व्यक्ति राजनीतिको नाममा हाबी हुन पुगे तिनको क्षमता र सद्भावले भरिएको सोचाइ हुने थियो भने आफ्नो जीवनपछिको कालखण्डको बारेमा सद्विचार राखेर सक्षम नेतृत्व उत्पादन गर्न सक्ने र गराउने थिए । तर जेन्जी आन्दोलनपछिको समयमा नेतृत्व सम्हाल्न सक्ने नेताको अभाव खट्केर गएको पाइयो । आफू राजनीतिको नाममा रातारात धनी बन्ने अनि सधैँजसो सत्तामा टाँसिरहने मानसिकताका हुनाले आफूले सत्ताको बागडोर छोडेपछिका दिनमा आकाशै खस्ला कि भन्नेजस्तो साँघुरो विचारका हुनाले उपकारी काम गर्न सकेनन् । आफूले नसकेसँगै उपकारी विचारका मानिसलाई पनि त्यस्ता काममा लाग्नको लागि हौसला दिने काम भएन । यदि सच्चा र देशभक्त नेताले नेतृत्व गर्न सकेको भए वा पाएको भए आज देशको हालत यसरी नाजुक हुने थिएन होला । विदेशीले पनि सिधै हस्तक्षेप गर्न पाउने अवस्था बन्ने थिएन होला । एक दशक लामो लडाइँको नेतृत्व गरेका आम नेपाली जनताले विश्वासका साथ मन पराएका शिर्ष राजनीतिकर्मीले पनि अब राजनेता होलान् वा नेता भन्नलायकका राजनीतिकर्मी होलान् कि भन्ने आशा र भरोसा राख्दै गरेका बेलादेखि गति छाड्दै गएर त्यसलाई अन्तिम तिलाञ्जलि नदिँदासम्म नै क्रमशः गति छोड्दै र लाचार बन्दै गएर त्यो सुवर्ण मौका गुमाए ।

राजनीतिक कर्ममा लागेका नेपालका आम राजनीतिककर्मीले आफ्नो धरातल र धर्म छोड्दै जान थाले । उनीहरुको धर्म भनेको जसरी हुन्छ धन कमाउने भयो । यस क्रममा स्वदेशका गोप्य कुरा सुनाउनै नहुने विदेशीलाई सुनाएर वा पोल खोलेर विदेशीका सामु साखिला हुन खोजे । यसो गर्दा न्यायपे्रमी नेपाली जनताको उनीहरुलाई हेर्ने, उनीहरुप्रतिको सोचाइ नकारात्मक बन्दै जान थाल्यो । त्यति मात्र होइन कि उनीहरुप्रति क्रमशः घृणाको भावना पलाउन थाल्यो । किनभने यो स्वाभाविक नै थियो कि उनीहरुले धन त धेरै लुटेर गोदाम भराभर बनाए तर जनताको विश्वासमा झोले कार्यकर्ताबाहेककामा ती शीर्ष राजनीतिक व्यक्तिमाथिको दृष्टि क्रमशः फरक हुँदै आयो । सम्मानको स्थान घृणाले ओगट्यो । यसरी आम जनताबाट घृणित भएर हरेकतिरबाट लखेटिँदै गरेका नेता भनिएका ती व्यक्ति कोही पनि नेता होइनन् । अब पनि तिनलाई नेता भन्नु र भनाउनु हामीभित्रको दास मनोवृत्तिको थोरै झल्को पनि हो । तिनलाई नेताको साटो असफल राजनीतिकर्मी भनिदिए ठीक होला कि !

आफूलाई नेता ठान्ने वा राजनेता ठान्ने व्यक्तिका विगतका विविध कर्तुतका कारण उनीहरु नेता वा राजनेता कति पनि हुन सक्दैनन् वा सुहाउँदैनथे भने जेन्जी आन्दोलनपछिका दिनमा अनेक राजनीतिक दलहरुले आफ्नो राजनीतिक दललाई ध्वस्त बनाएर अरु कसैको राजनीतिक दलमा जाने क्रम चलिरहेको छ । यति भइसकेर पनि उनीहरुभित्रको अहंताको भावना कति मरेर गएको छैन । सोही घमण्डको भावना प्रबल हुँदै गएका कारणले गर्दा विगतका आफ्ना गलत हर्कतको समीक्षा गरेर साँचो र इमानदार नेता बन्ने कर्ममा वा अभ्यासमा लाग्नेसमेत कुनै प्रयास गरेका छैनन् । यदि उनीहरू साँच्चै जनप्रिय नेता भइदिएको भए यसरी पतनको बाटोतिर जाने वा लतारिने अवस्था किमार्थ आउने थिएन होला । तर अब पनि सुधारिने बाटोमा उनीहरु कहिल्यै उक्लेर हिँड्न सक्ने अवस्था देखाएको छैन । यी सबै कारणले गर्दा हाम्रा विभिन्न राजनीतिक दलको नेतृत्व गरेका व्यक्ति नेता होइनन्, हुँदै होइनन् । केवल राजनीतिक कार्यकर्ता मात्र हुन् ।