मृत्युदण्डको फैसलापछि बंगलादेश दबाबमा, भारतसँग तुरुन्त सुपुर्दगीको आग्रह


काठमाडौँ।

मानवता विरुद्धको अपराधमा पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशले भारतमाथि दुवै व्यक्तिलाई तुरुन्तै सुपुर्दगी गर्न दबाब बढाएको छ।

तीन सदस्यीय न्यायाधिकरण–१ ले सोमबार सुनाएको फैसलामा हसिना र कमाललाई गत वर्ष बंगलादेशमा भएको हिंसा, तोडफोड र सुरक्षा निकायबाट गराइएको दमनका घटनामा दोषी ठहर गरेको थियो। ती दुवै अहिले भारतमा बसेका छन्।

फैसलापछि बंगलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतलाई सुपुर्दगी सन्धि स्मरण गराएको छ। विज्ञप्तिमा भनिएको छ—
“अन्तर्राष्ट्रिय अदालतमा दोषी ठहरिएका व्यक्तिलाई शरण दिनु न्याय र मित्रवत व्यवहारको अवहेलन हो। भारतले उनीहरूलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई बुझाउनुपर्छ।”

बंगलादेशले हसिना र कमालको फिर्ता सम्बन्धी अनुरोध गर्दै भारतलाई धेरै पटक पत्र पठाइसकेको दाबी गरेको छ। तर भारतले यावत् पत्राचारमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
विदेश मामिला सल्लाहकारका अनुसार—“हामीले आग्रहहरू निरन्तर पठाइरहेका छौँ, तर भारततर्फबाट स्पष्ट जवाफ आएको छैन।”

फैसलापछि बंगलादेशको कूटनीतिक सक्रियता तीव्र भएको छ।