भारतविरुद्ध दक्षिण अफ्रिकाको  रोमाञ्चक जित  


लन्डन, (एजेन्सी)

दक्षिण अफ्रिकाले भारतविरुद्धको पहिलो टेस्टमा रोमाञ्चक जित हासिल गरेको छ । दक्षिण अफ्रिकाले भारतलाई उसैको भूमिमा तीन दिनमै हराएको हो । कोलकातामा भएको उक्त टेस्ट खेलमा दक्षिण अफ्रिकाले घरेलु टोलीलाई ३० रनले हराएको हो । 

यो दक्षिण अफ्रिकाको भारतीय भूमिमा २०१० पछि टेस्ट खेलमा जित हो । योसँगैं पाहुना टोलीले दुई खेलको टेस्ट सिरिजमा १–० को अग्रतासमेत लियो । दोस्रो तथा अन्तिम टेस्ट खेल गुवाहाटीमा अर्को शनिवार हुनेछ । 

दक्षिण अफ्रिकाले मात्र १ सय २४ रनको सामान्य विजयी लक्ष्य दिएको थियो । यो लक्ष्य भारतले सहजै लिने सम्भावना धेरै बनेको थियो । तर, भारतीय टोली ३५ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा अलआउट भयो । 

दक्षिण अफ्रिकालाई असंभव जित दिलाउन ३६ वर्षीय स्पिनर सिमोन हार्मरको उत्कृष्ट बलिङ रह्यो । उनले दुबै इनिङमा समान ४÷४ विकेट लिँदैं खेलमा कूल ८ विकेट लिएका थिए । 

भारतीय कप्तान शुभमन गिल घाँटीको चोटले गर्दा दोस्रो दिनको खेलमा रिटायर्ड भएका थिए । उनको उपचार अस्पतालमा भइरहेको पनि भारतीय संचार माध्यमहरूले बताएको छ । 

दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिङ तेस्रो दिन आइतबार ९३–७ बाट शुरु गरेको थियो । टोलीको अग्रता ६३ रन मात्रै थियो । तर, बाँकी तीन विकेट ६० रन जोडेर गुमाएपछि टोली १ सय ५३ रनमै समेटियो । टोलीका कप्तान टेम्बा बभुमाले नटआउट हुँदैं सर्वाधिक ५५ रन बनाएका थिए । 

मार्को यान्सेनले लगातार दुई विकेट लिएपछि भारतको सुरुआत नै खराब भयो । उनले यशस्वी जैसवाल र केएल राहुल दुबै कट बिहाइन्ड भए । आक्रमक खेल्न रुचाउने यी दुबै ब्याटर आउट भएपछि भारत सम्हालिन सकेन । 

त्यसो त वाशिंगटन सुन्दरले केही रन बनाएर भारतको इनिङमा टेवा दिन कोसिस गरे । उनी पनि ३१ रनमा एडेन मार्करामको शिकार भए । यतिबेलासम्म भारत ६ विकेट गुमाएर ७२ रनमा थियो । यसपछि बाँकी चार विकेट केशव महाराज र हार्मरले लिएपछि भारतले अपत्यारिलो हार बेहोर्नुु परेको थियो ।