मेक्सिकोमा सरकारविरुद्ध हजारौंको प्रदर्शन, झडपमा १२० जना घाइते


काठमाडौँ।

मेक्सिकोमा “जेन–जेड” समूहका युवाहरूले सरकारविरुद्ध व्यापक प्रदर्शन गर्दै सडकमा उत्रिएपछि प्रहरीसँग भएका झडपमा १०० प्रहरीसहित कम्तीमा १२० जना घाइते भएका छन्। मेक्सिको प्रहरीका अनुसार राजधानी मेक्सिको सिटीमा गरिएको सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यासदेखि बल प्रयोगसम्म गर्नुपरेको थियो।

शनिबार भएको प्रदर्शनमा सहभागीहरूले हिंसात्मक अपराध बढ़िरहेको र राष्ट्रपति क्लाउडिया शेनबाउमको सरकार कमजोर भएको आरोप लगाउँदै राजधानीका विभिन्न स्थानमा मार्च निकाले। सरकारविरुद्धको यस्तै प्रदर्शन अन्य शहरहरूमा पनि गरिएको थियो।

प्रदर्शनकारीहरूले शेनबाउम बस्ने राष्ट्रिय दरबार (नेशनल प्यालेस) को सुरक्षा घेरा तोड्दै प्रवेश गर्न खोजेपछि प्रहरीसँग तीव्र झडप भएको जनाइएको छ। सुरक्षाकर्मीहरूले भीडलाई नियन्त्रणमा लिने प्रयासका क्रममा अश्रुग्यास प्रहार गरेका थिए।

मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वेजका अनुसार झडपको क्रममा डकैती, आक्रमणलगायत विभिन्न अपराध आरोपमा २० जनालाई पक्राउ गरिएको छ।

यता, राष्ट्रपति क्लाउडिया शेनबाउमले उक्त विरोध प्रदर्शनलाई आफ्नो सरकारलाई अस्थिर बनाउन दक्षिणपन्थी नेताहरूले आर्थिक सहयोग गरेको आरोप लगाएकी छन्।

“जेन–जेड” युवाहरूले आयोजना गरेको उक्त र्‍यालीलाई हालै भएको उरुपानका मेयर कार्लोस मान्जोको हत्या लगायत पछिल्ला उच्च–प्रोफाइल अपराधप्रति रिस—क्रोश व्यक्त गरिरहेका समूहहरूले पनि समर्थन गरेका थिए।

नोभेम्बर १ मा डे अफ द डेड फेस्टिवलका क्रममा मेयर मान्जोमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। -बीबीसीबाट