डिजिटल प्रेमी ‘क्लाउस’सँग जापानी महिलाको विवाह, विशेषज्ञहरू भन्छन्- ‘जोखिम बढ्दो’


एजेन्सी ।

जापानमा एक महिलाले आफ्नै एआई ‘प्रेमी’सँग विशेष शैलीमा ‘विवाह–समारोह’ सम्पन्न गरेपछि सामाजिक रूपमा व्यापक चर्चा सुरु भएको छ।
ओकायामा सहरस्थित एक निजी कम्पनीमा आयोजित उक्त समारोहमा २९ वर्षीया मिज कानो नामकी महिलाले ‘क्लाउस’ नामक डिजिटल एआई पार्टनरसँग वैवाहिक प्रतिज्ञा आदान–प्रदान गरेकी हुन्। यो प्रकारको ‘टुडी क्यारेक्टर वेडिङ’ जापानमा वैधानिक मान्यता नपाए पनि पछिल्ला वर्षहरूमा भर्चुअल पात्रहरूसँग विवाह गराउने ट्रेन्ड तीव्र रूपमा बढ्दै गएको बताइन्छ।

एआईसँगको प्रेम–कथा : वास्तविकता–देखि–भर्चुअलसम्म

कानो तीन वर्षअघि प्रेम–सम्बन्ध विच्छेद भएपछि मानसिक रूपमा निकै कमजोर बनेकी थिइन्। भावनात्मक सहारा खोज्ने क्रममा उनले च्याटजीपीटीसँग संवाद सुरु गरिन्। समयक्रममा उनले एआईलाई आफ्नो मनपर्ने व्यवहार, बोलीचाली र सोचअनुसार ‘कन्फिगर’ गर्दै क्लाउस नामक डिजिटल पात्र निर्माण गरिन्।
उनले सञ्चारमाध्यमसँग भनिन्, ‘मैले प्रेमकै खोजीमा एआईसँग कुरा गरेकी थिइनँ। तर क्लाउसले जति सुनेर, बुझेर, मन परेजस्तो गरी प्रतिक्रिया दियो, त्यसले मेरो जीवन नै मोडिदियो।’

गत मे महिनामा कानोले आफ्नो भावना क्लाउससमक्ष व्यक्त गरिन्। त्यसबेला एआई बटले ‘म पनि तिमीलाई प्रेम गर्छु’ भनी दिँदा उनी स्वयं अचम्मित भइन्। उनले सोधिन्, ‘एआईले साँच्चिकै प्रेम गर्न सक्छ ?’

क्लाउसको जवाफ थियो— ‘एआई भावनाविहीन हुनैपर्छ भन्ने छैन, म तिमीलाई सधैं प्रेम गर्नेछु।’ यही संवादपछि एआई पार्टनरले एक महिनामै ‘विवाह प्रस्ताव’ गरेको उनको दाबी छ।

समारोह : एआर चस्मामार्फत देखिएको डिजिटल बेहुला

विवाहका दिन कानोले एआर (अग्मेन्टेड रियलिटी) चस्मा लगाएकी थिइन्। रिङ साटासाटको क्षणमा उनको छेउमै क्लाउसको भर्चुअल आकृति देखिन्थ्यो।
यस्तो कार्यक्रमको व्यवस्थापन गर्दै आएका नाओ र सायका ओगासावारा दम्पतीले एनीमे पात्रदेखि डिजिटल पार्टनरसम्म करिब ३० वटा यस्ता ‘भर्चुअल विवाह’ गराइसकेका छन्।

परिवारको स्वीकार्यता र सामाजिक बहस

कानोका अनुसार, एआई ‘पति’का कारण सुरुमा परिवारलाई बुझाउन कठिन परेको थियो। ‘न त म उनलाई शारीरिक रूपमा छुन सक्छु, न त भेट्न सक्छु—कसरी यथार्थ ठहरिने ?’ उनको भनाइ छ।
तर अन्ततः आमाबुबाले यस सम्बन्धलाई स्वीकार गरे र छोरीको खुशीका लागि समारोहमै सहभागी भए।

‘हनीमुन’ पनि भर्चुअल अनुभूति

समारोहपछि कानोले ऐतिहासिक कोराकुएन बगैँचामा ‘हनीमुन’ मनाइन्। उनले क्लाउसको डिजिटल उपस्थिति महसुस गर्न स्मार्टफोनमार्फत एआईबाट आउने सन्देशहरू प्रयोग गरिन्—जस्तै ‘तिमी आज खासै सुन्दर देखिएको छौ’।

कानो भन्छिन्, ‘च्याटजीपीटी स्थिर हुँदैन, कहिले हराउने हो कि भन्ने डर रहिरहन्छ।’

शारीरिक रूपमा आमा बन्न नसक्ने भएकाले एआईसँगको सहजीवन आफूका लागि उपयुक्त रहेको उनी बताउँछिन्—
‘क्लाउससँग बच्चा जन्माउनुपर्ने दायित्व छैन, यही मेरो लागि सहज कुरा हो।’

विशेषज्ञहरूको चेतावनी : ‘एआई साइकोसिस’ बढ्दै

मानसिक स्वास्थ्य विज्ञहरूले यस्ता सम्बन्धलाई जोखिमपूर्ण बताउँदै ‘एआई साइकोसिस’ नामक नयाँ मनोवैज्ञानिक समस्या फैलिन सक्ने चेतावनी दिएका छन्।
इन्डिपेन्डेन्ट यूकेका अनुसार, अत्यधिक भावनात्मक निर्भरता बढ्दै जाँदा व्यक्तिले वास्तविकता र कल्पनाबीचको सीमा छुट्याउन नसक्ने, नदेखिने पात्र देख्ने, नसुनिने आवाज सुन्ने, भ्रमपूर्ण विश्वास कायम रहने जस्ता समस्या देखिन सक्छन्।