आयोजकको व्यवहारले मिस युनिभर्स छोडे सुन्दरीले


थाइल्याण्डको बैंककमा जारी मिस युनिभर्सको ७४औं संस्करण विवादित बनेको छ।प्रतियोगिताको ग्रयाण्ड फिनाले नजिकिदै गर्दा एक प्रतियोगी र थाइल्याण्डका राष्ट्रिय निर्देशकबीचको भनाभनले चर्को विवादको रूप लिएको हो। हालै आयोजित स्यासिङ समारोहमा मिस युनिभर्स थाइल्याण्डका राष्ट्रिय निर्देशक नवात इटसाराग्रिसिलले मिस युनिभर्स मेक्सिका फातिमा बोशलाई ‘मूर्ख मान्छे’ भन्दै सार्वजनिक रूपमा गाली गरेपछि यसले विवाद उत्पन्न भएको हो।

विभिन्न डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरिएको समारोहमा भनाभन हुन थालेपछि सुरक्षाकर्मीलाई बोलाएर बोसलाई हटाउन लगाइएको थियो। त्यसपश्चात बोस निकै निराश देखिएकी थिइन्। उनी सो कोठाबाट बाहिरीएपछि उनलाई समर्थन गर्दै सन् २०२४ की मिस युनिभर्स डेनमार्ककी भिक्टोरिया केजर थेइलभिगलगायत अन्य प्रतियोगी पनि बाहिरिएका थिए।

फातिमालाई प्रायोजक प्रवद्र्धनको छायांकनमा भाग नलिएको र थाइल्याण्डलाई आयोजकको रूपमा समर्थन नगरेको पनि आरोप लगाइएको थियो। यस घटनापछि मिस जर्मनी २०२५ डायना फास्टले पनि सामाजिक सञ्जालमा एक तस्बिर राख्दै आफूले भाग लिइरहेको मिस युनिभर्स छोडेको र आगामी दिनमा थाइल्याण्डको भ्रमण नगर्ने बताएकी छन्।

त्यस्तै प्रतियोगिताको मुल संस्था मिस युनिभर्स अर्गनाइजेसनका अध्यक्ष राउल रोचा कान्टुले उक्त व्यवहारले इटसाराग्रिसिलले महिलाप्रति सम्मान र मर्यादाको मूल्य मान्यता उल्लघंन गरेको भन्दै कडा आलोचना गरेका छन्। त्यस्तै समारोहमा इटसाराग्रिसिलको सहभागिता प्रतिबन्धित गरिएको घोषणा गरिएको छ।

निर्देशक इटसाराग्रिसिलले आफू दबाबमा रहेको र आफ्नो उद्देश्य मूर्ख मान्छे भन्नु नरहेको तथा क्षति भन्न खोजेको बताएका थिए। नोभेम्बर २ देखि सुरु भएर नोभेम्बर २१ मा थाइल्याण्डको बैंककमा फाइनल हुने प्रतियोगितामा भएको विवादलाई लिएर संसारभर आयोजक देशले महिलाप्रति गरेको व्यवहारको आलोचना भइरहेको छ। समारोहमा विश्वका विभिन्न देशका सुन्दरी सहभागी भएका छन् भने नेपालबाट मिस युनिभर्स नेपाल सान्या अधिकारी सहभागी छिन्।