पोर्ट सुडान, (एजेन्सी)
सुडानमा १९ महिनादेखि जारी युद्धका कारण चरम कुपोषण फैलिँदै जाँदा हजारौं बालबालिका र गर्भवती महिलाहरू मृत्युको जोखिममा परेका छन्। अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था मेडेसिन्स सान्स फ्रन्टियर्स (MSF) का अनुसार उत्तर डार्फरको ताविला क्षेत्रमा आइपुगेका विस्थापितहरूमा देखिएको कुपोषण दर सुडान युद्ध सुरु भएपछिको सबैभन्दा गम्भीर अवस्था हो।
RSF (र्यापिड सपोर्ट फोर्सेस) द्वारा नियन्त्रणमा लिइएको एल फाशेर शहरबाट भागेका परिवारहरू ताविलामा पुग्दा MSF टोलीहरूले तीव्र कुपोषणका बिरामीहरूको उपचार गरिरहेका छन्। संस्थाका अनुसार अक्टोबर २७ देखि नोभेम्बर ३ सम्म ताविलामा पुगेका पाँच वर्ष मुनिका बालबालिकामध्ये ७० प्रतिशतभन्दा बढी तीव्र कुपोषित थिए। तीमध्ये ३५ प्रतिशत गम्भीर अवस्थाका थिए। यस्तै, १,१३० वयस्कमध्ये ६० प्रतिशत कुपोषित थिए भने ३७ प्रतिशत गम्भीर अवस्थामा थिए।
गर्भवती र स्तनपान गराइरहेका महिलाहरूमा कुपोषण दर अझ भयावह देखिएको MSF को रिपोर्टले जनाएको छ। “५०० दिनभन्दा बढी समयदेखि घेराबन्दीमा रहेको एल फाशेरमा अनिकालको अवस्था पुष्टि हुँदैछ,” MSF का अधिकारीहरूले बताएका छन्।
एल फाशेरमा मानवीय सहायता अवरुद्ध भएपछि सामुदायिक भान्सा बन्द भएका र बजारमा खाद्यान्न अभाव भएको बताइएको छ। सेप्टेम्बर महिनामा मात्र सात किलो कोदोको मूल्य सुडानी पाउन्ड (SDG) ५ लाख र एक किलो चिनीको मूल्य SDG १.३ लाख पुगेको MSF को तथ्याङ्कले देखाउँछ।
“हामी यति भोकाएका थियौं कि जनावरको खाना खान बाध्य भयौं,” उत्तरी डार्फरकी एक विस्थापित महिलाले MSF टोलीलाई बताइन्। उनका अनुसार सुरुमा उक्त खाना नि:शुल्क पाइन्थ्यो, तर पछि यसको मूल्य २० अमेरिकी डलरसम्म पुगेको थियो।
एल फाशेरमा खाद्यान्न ल्याउन खोज्ने नागरिकमाथि RSF ले गोली चलाएको विवरण पनि MSF ले सार्वजनिक गरेको छ। “मेरो काका जुनमा खाना ल्याउने क्रममा बेपत्ता भए,” एक महिलाले भनिन्, “उनीहरू मोटरसाइकलमा निस्कँदा RSF लडाकुहरूले गोली हाने।”
MSF ले एल फाशेर र आसपासका क्षेत्रमा सयौं मानिस अझै घेराबन्दीमा फँसेको, धेरैजसोलाई फिरौतीका लागि नियन्त्रणमा राखिएको र भाग्न असमर्थ रहेको आशंका व्यक्त गरेको छ। संस्थाले सबै युद्धरत पक्षहरूलाई मानवीय पहुँच सुनिश्चित गर्न र अत्याचार रोक्न आग्रह गरेको छ।
ताविला पुगेका गर्भवती महिलाहरूमा पनि स्थिति निकै गम्भीर देखिएको छ। वर्षको सुरुदेखि MSF द्वारा जाँच गरिएका ६,५०० गर्भवती महिलामध्ये आधा तीव्र कुपोषित थिए। यसले गर्भमा रहेका शिशुहरूलाई कम तौल र मृत्यु जोखिममा पार्ने MSF ले चेतावनी दिएको छ।
सुडानभरका अन्य क्षेत्रमा पनि यस्तै अवस्था देखिएको छ। ब्लू नाइल राज्यमा दक्षिण सुडानबाट फर्किएका नागरिकहरूको कारण खाद्य संकट र हैजाको प्रकोप बढेको छ। दामाजिन शिक्षण अस्पतालमा जुलाईदेखि सेप्टेम्बरसम्म १,९५० बालबालिकाको कुपोषण उपचार गरिएको थियो, जसमा १०० जनाको मृत्यु भएको MSF ले जनाएको छ।
खार्तुम र ओमदुरमनका अस्पतालहरूमा पनि कुपोषण तीव्र गतिमा बढ्दै गएको छ। अल बुलुक अस्पतालमा सेप्टेम्बरमा मात्रै ३५१ बिरामी भर्ना भएका थिए भने अल बन्जादीद अस्पतालमा परामर्शमा आएका बालबालिकामध्ये ४६ प्रतिशत कुपोषित भेटिएका थिए।
“कुपोषणले गर्दा हजारौं मानिस पीडामा छन्। युद्धरत पक्षहरूले तत्काल मानवीय सहायता पहुँच सुनिश्चित गर्नुपर्छ,” MSF आपतकालीन संयोजक मिरियम लारोसीले भनेकी छन्।
सुडानमा चलिरहेको यो मानवीय संकट अहिले पनि विश्वकै सबैभन्दा भयावह अवस्थामध्ये एक बनेको छ, जसको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायको चासो र द्रुत कदम आवश्यक देखिन्छ।











प्रतिक्रिया