अस्ट्रेलियामा सवारी दुर्घटना : एकै परिवारका तीन नेपालीको निधन, हजुरआमा घाइते


काठमाडौँ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित ग्रामीण क्षेत्र स्टोनली मा भएको भीषण सवारी दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा ४१ वर्षीय पुरुष, उनकी ३१ वर्षीया श्रीमती र तीन वर्षीय छोरा रहेका छन् । उनीहरू सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिँदा घटनास्थलमै तिनै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ती दम्पतीकी आमा (हजुरआमा) गम्भीर घाइते भएकी छन् । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको भिक्टोरिया प्रहरीले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरूले हाल उनको अवस्था स्थिर रहेको र ज्यान संकटमुक्त भएको बताएका छन् ।

दुर्घटना सब–वेबाट मुख्य सडकमा निस्कँदै गर्दा मालबाहक ट्रकले कारलाई ठक्कर दिँदा भएको बताइएको छ । ट्रक चालक भने सामान्य रूपमा घाइते भएका छन् ।परिवारका अन्य सदस्यहरू अर्को सवारीमा केही दूरी पछाडि थिए र घटनाबारे पछि मात्रै जानकारी पाएका थिए ।

भिक्टोरियाका वाणिज्यदूत नीराजन गौलीले घटनालाई “निकै पीडादायक र दुःखद” भन्दै दुःख प्रकट गरेका छन् । उनले तीन जना नेपालीको घटनास्थलमै मृत्यु भएको र एक जना महिलाको उपचार भइरहेको पुष्टि गरे ।

त्यसैगरी, एनआरएन (गैरआवासीय नेपाली संघ) भिक्टोरियाका संयोजक महादेव धानुकले घाइतेको उपचार र परिवारलाई आवश्यक सहयोगका लागि संघ सक्रिय रहेको बताएका छन् ।

भिक्टोरिया प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।