ढाका ।
बंगलादेशको राजधानी ढाका मंगलबार बिहानदेखि रातिसम्म शृंखलाबद्ध बम विस्फोट र आगजनीका घटनाले थर्किएको छ। सार्वजनिक यातायात, सरकारी कार्यालयदेखि धार्मिक स्थलसम्म लक्षित विस्फोटपछि राजधानीमा उच्च सतर्कता घोषणा गरिएको बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार मात्र ११ स्थानमा विस्फोट भएका छन्। तीमध्ये अधिकांश विस्फोट घरेलु विधिबाट बनाइएका ‘क्रुड बम’ प्रयोग गरेर गरिएको जनाइएको छ।
पहिलो विस्फोट बिहान ३:४५ बजे अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले स्थापना गरेको ग्रामीण बैंकको मुख्यालय अगाडि भएको थियो। दुई मोटरसाइकलमा आएका व्यक्तिहरूले बम फ्याँकेर फरार भएको प्रहरीको भनाइ छ।
त्यसपछि बिहानै माछा तथा पशुपालन सल्लाहकार फरिदा अख्तरसँग सम्बन्धित व्यवसायिक संस्था ‘प्रवर्तन’मा अर्को बम आक्रमण भयो। बिहान साढे सात बजे धानमण्डीस्थित इब्न सिन्हा अस्पताल र मिडास सेन्टर वरपर चार वटा बम विस्फोट गराइएका थिए।
दिनभर तीनवटा बसमा आगजनी भएको समेत डेली स्टारले उल्लेख गरेको छ।साँझपछि मौचक, अगारगाँवस्थित बंगलादेश बेटार अगाडि, खिलगाँउ फ्लाइओभर र मिर्पुरको शाह अली मार्केट क्षेत्रमा थप विस्फोट भएका थिए। अन्तिम विस्फोट राति करिब ११ बजे बङ्गला मोटरस्थित नेशनल सिटिजन पार्टी (एनसीपी) कार्यालयमा भएको बताइएको छ। उक्त घटनामा एक सर्वसाधारण व्यक्ति सामान्य घाइते भएका छन्।
विस्फोटका कारण सहरका विभिन्न भागमा आतङ्क फैलिएको छ भने प्रहरी र सैनिक बललाई उच्च सतर्क अवस्थामा राखिएको छ। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
प्रहरीले घटनाका सम्भावित संलग्नतामाथि अनुसन्धान थालेको र राजधानीका संवेदनशील स्थानमा कडा सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ।











प्रतिक्रिया