हायात रेजेन्सी अस्थायी रूपमा बन्द, व्यवस्थापनले भन्यो– “आर्थिक संकट गहिरिँदै”


काठमाडौं ।

अन्तर्राष्ट्रिय पाँचतारे होटल हायात रेजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटल सञ्चालन अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। होटलका महा–प्रबन्धक अशोक कुमारको हस्ताक्षर रहेको सूचना अनुसार, लामो समयदेखि चल्दै आएको आर्थिक घाटा र विश्व पर्यटन बजारमा आएको मन्दीका कारण यो निर्णय लिन बाध्य भएको उल्लेख छ।

होटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरमा पर्यटन उद्योग पुनःस्थापनाको प्रयास भइरहेका बेला पनि हायात होटलले पछिल्ला वर्षहरूमा पर्याप्त व्यावसायिक आम्दानी गर्न सकेको छैन। कोभिड–१९ पश्चात् निरन्तर घाटा व्यहोर्नु परेको र हालको आर्थिक अवस्थाले होटल सञ्चालन असम्भव जस्तो बनेको हुँदा अस्थायी रूपमा होटल बन्द गर्नुपरेको छ।”

विज्ञप्तिमा अझ भनिएको छ कि, होटलका सबै कर्मचारी, ग्राहक, सहकार्य संस्था र आपूर्तिकर्तालाई यो निर्णयबारे जानकारी दिइसकिएको छ। होटलले हालसम्मका सम्पूर्ण कर्मचारीको तलब तथा कानुनी हिसाबकिताब मिलाउने प्रतिबद्धता जनाएको छ।
हायात व्यवस्थापनले नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल (HAN), र श्रम विभागलगायत सम्बद्ध निकायलाई आधिकारिक रूपमा जानकारी गराइसकेको जनाएको छ।

होटलका अनुसार, बन्दको निर्णय मंसिर १ गतेदेखि लागू हुने छ र यस अवधिमा आवश्यक पुनर्संरचना तथा व्यवस्थापकीय समीक्षा गरिने बताइएको छ।

सन् २००० मा सञ्चालनमा आएको हायात रेजेन्सी नेपालकै प्रतिष्ठित पाँचतारे होटलमध्ये एक हो। लामो समयदेखि अन्तर्राष्ट्रिय पाहुना, सम्मेलन र पर्यटन व्यवसायीहरूको प्रमुख गन्तव्य बनेको यो होटल बन्द हुँदा नेपाली पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ।