काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव नेपालमा पाँच वर्षे आफ्नो कार्यकाल पूरा गरी श्रीलंकाका जाँदै हुनुहुन्छ । उहाँले आगामी मंसिर ५ गते नेपालको जिम्मेवारी पूरा गरी मंसिर १५ देखि कोलम्बोमा डब्लूएचओ प्रमुखको कार्यभार सम्हाल्ने हुनुभएको छ ।
डा. पाण्डवले सन् २०२० सेप्टेम्बर १८ मा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी फैलिएको अवस्थामै डब्लूएचओ नेपाल प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको थियो । उहाँ आउँदा कोभिड–१९ महामारीले गर्दा स्वास्थ्य सुरक्षा अपनाउनका लागि लकडाउनको अवस्था सिर्जना भएको थियो । अस्पतालहरूमा आइसोलेसन, अक्सिजन, र खोप व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । यतिबेला उहाँले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै महामारी नियन्त्रणका लागि सक्रिय नेतृत्वदायी भूमिका निभाउनुभएको थियो ।
डा.पाण्डवकै समन्वयमा खोप आपूर्ति, स्वास्थ्य सामग्री व्यवस्थापन, जोखिम न्यूनीकरण र स्वास्थ्य जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज भएको थियो । सोही अवसरमा उहाँले स्वास्थ्य पत्रकार मञ्च नेपालसहित देशभरका सञ्चारकर्मीलाई लक्षित गरी स्वास्थ्य पत्रकारिता र एआई–डिजिटल प्रविधिसम्बन्धी जानकारी दिनुभएको थियो ।
टिमोर लेस्टेमा काम गर्ने क्रममा उहाँले सुरु गरेको ‘वाक द टक’ अभियानलाई नेपालमा पनि विस्तार गर्नुभयो । यस अभियानले सर्वसाधारणमा स्वस्थ जीवनशैली, नियमित व्यायाम, र मानसिक स्वास्थ्यप्रति चेतना फैलाउने उद्देश्य लिएको थियो ।











प्रतिक्रिया