पाटन अस्पतालमा पार्किङ ठेक्का लगाउन उच्च अदालतद्वारा रोक


ललितपुर ।

उच्च अदालत पाटनले स्वास्थ्य विज्ञान प्रतिष्ठानको भूमिगत पार्किङ क्षेत्र भाडामा दिनेसम्बन्धी बोलपत्र आह्वान तत्काल कार्यान्वयन नगर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाउँमा अन्तरकालीन आदेश जारी गरेको छ ।

प्रतिष्ठानले सो क्षेत्र भाडामा दिने विषयमा गत असोज २६ गते एक राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको थियो । भाडामा पार्किङ ठेक्का लगाउने कार्यले सर्वसाधारणलाई हैरानी हुने भएकोले कानुनी र नैतिक हिसाबले सो कार्य उचित होइन भन्दै दायर रिट निवेदनमा बहस हुँदा उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले सोमबार सो आदेश दिएको हो । अदालतले बोलपत्र सूचना हाललाई यथास्थितिमा राख्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको आदेशमा भनिएको छ ।

नारायण तण्डुकारसमेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत विपक्षी बनाई दर्ता गरेको सो मुद्दामा निवेदकका सम्बन्धमा वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल तथा विद्वान अधिवक्तात्रय राजु शाक्य, युद्धमान महर्जन र सुनिल महर्जनले बहस गर्नुभएको थियो । अदालतले सो विवाद सार्वजनिक सरोकारको रहेको उल्लेख गर्दै अन्तरिम आदेशको निरन्तरताको सम्बन्धमा छलफल गर्न यही कार्तिक ३० गते दुवै पक्षलाई बोलाएको छ ।

अदालतको आदेशमा भनिएको छ – ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १ र ४ लाई आफंै वा कानुनबमोजिमको प्रतिनिधिमार्फत र विपक्षी नं. २ र ३ लाई उच्च सरकारी वकिल कार्यालय ललितपुरमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्नु ।’