काठमाडौं ।
नेकपा एमालेले जनपरिचालन कार्यक्रमअन्तर्गत मंगलवार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शनमार्फत प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ । एमालेका सयौं नेता कार्यकर्ताहरू संलग्न भएका ७ सय ५३ वटै पालिकामा प्रदर्शनसहित सभा गरेर कार्यक्रम समापन भएको छ ।
ती कार्यक्रममा केन्द्र, जिल्ला तथा पालिका स्तरका नेताहरूले सम्बोधन गर्दै वर्तमान सरकार असंवैधानिक किसिमले बनेकाले संविधानलाई ट्रयाकमा ल्याउनुपर्ने र त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना अनिवार्य रहेकोमा जोड दिएका थिए । एमालेले विभिन्न स्थानमा सम्बोधन गर्न केन्द्रीय नेताहरूलाई पनि खटाएको छ । एमालेले यसअघि देशभरका वडाहरूमा पनि यस्तै खालको जनप्रदर्शन गरेको थियो । एमालेले यस खाले जनप्रर्दशनमार्फत असंवैधानिक कदम सच्याउनसमेत माग गर्दै आएको छ । एमालेले प्रतिनिधिसभा पुनःस्थापना र असंवैधानिक कदम सच्याउनकै लागि यसखाले दबाबमूलक कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
वर्तमान राजनीतिक अवस्था तथा सरकार गठनलाई प्रतिगामी षडयन्त्रको संज्ञा दिएको एमालेले यसअघि असंवैधानिक कदमविरुद्ध वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रम गर्ने गरी केन्द्रीय तहमा नै निर्णय गरेको थियो । सो निर्णयअनुसार यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् ।
भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसद्को गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरूलाई प्रष्ट पारिएको एमालेले जनाएको छ । मंगलवारको पालिका स्तरीय कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल ¥यालीमार्फत एमालेको शक्ति प्रदर्शन गरिएको जनाएका छन् ।
जनप्रदर्शनका तस्विर, भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा सेयर गर्न र सञ्चार माध्यमहरूमा पठाउन पार्टी महासचिव शंकर पोखरेलले निर्देशन गरिसक्नुभएको छ । मंगलवारको जनप्रदर्शन कात्तिक २९ गते जिल्लास्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रूपमा पनि रहने एमालेले जनाएको छ ।











प्रतिक्रिया