शीर्ष डिभिजन लिग गर्न एन्फाद्वारा १२० दिनको माग

752
Shares

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न १ सय २० दिनको समय मागेको छ । मंगलवार युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको उपस्थितिमा नेपाल फुटबल खेलाडी संघसँग बसेको बैठकमा एन्फाले सो समय मागेको हो ।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले ४ महिनाभित्र ‘ए’ डिभिजन लिग गर्ने भनेर खेलाडी संघ र मन्त्री गुप्तासँग प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्री गुप्ताले बैठकमा एन्फालाई मिति नै तोक्न आग्रह गर्दै भन्नुभएको थियो—‘अहिले एन्फाले यो मितिमा ‘ए’ डिभिजन लिग गराउन सक्छौं भन्दिनुस् । म त्यही मितिमा क्लबहरूसँग प्रस्ताव गर्छु । यसका लागि क्लबहरूसँग भोलि बैठक पनि बस्छु ।’ मन्त्री गुप्ताले कडाइका साथ भन्नुभएपछि एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईले होमवर्क गर्नुपर्ने बताउनुभयो । तर, मन्त्री मान्नुभएन र मिति तोक्नैपर्ने अडान लिनुभएपछि मात्रै उहाँहरूले माघमा लिग गराउन सकिने बताउनुभएको हो । क्लबहरूले भने होम एन्ड अवेमा लिग गराउन कमसेकम ३ महिना समय चाहिएको बताएको थियो । यसैअनुसार एन्फाले चार महिनाको समय माग गरेको हो ।

गत वैशाखमा धुलिखेलमा आयोजित एन्फाको साधारण सभाबाट ए डिभिजन लिग यसै वर्षको पुष ९ गतेदेखि सुरु गर्ने पारित गरिएको थियो । यसका लागि एन्फाले बजेटसमेत अनुमोदन गरिसकेको थियो । जब, ए डिभिजन लिगको मिति नजिक आउँदै गर्दा भने एन्फाले पुस ९ गतेदेखि राष्ट्रिय लिग गर्ने र ए डिभिजन लिग अर्को वर्षको पुसमा गर्ने निर्णय लियो ।

एन्फाले होम एन्ड अवेको अवधारणामा लिग सञ्चालन गर्न अगाडि बढेको हो । तर, क्लबहरूले भने दोहोरो लिग गर्ने अवधारणा राखेका छन् । क्लबहरूले होम एन्ड अवेमा लिग सञ्चालन गर्न समय मागेको हुनाले राष्ट्रिय लिग गर्ने तयारी भएको एन्फाका महासचिव किरण राईले स्पष्ट पार्नुभएको छ ।

एन्फाका महासचिव राईले बताउनुभयो–‘क्लबहरूले होम एन्ड अवेका लागि १४ महिना मागेको थियो । क्लबहरूको सहमतिमा हामीले यस वर्ष राष्ट्रिय लिग गर्न तयार भएका हौं र ए डिभिजन लिग अर्को वर्षको पुसमा गर्ने सहमति गरेका हौं । यदि, क्लबहरू तयार छन् भने हामीलाई ए डिभिजन लिग गराउन कुनै समस्या छैन ।’

एक क्लबका अध्यक्षले नाम नराख्न अनुरोध गर्दै बताउनुभयो—‘एन्फाको होम एन्ड अवे भन्ने अवधारणा यस पालि लिग नगर्ने एउटा बहानामात्रै हो । हामी त राष्ट्रिय लिग गरे पनि ए डिभिजन लिग गरे पनि तयार नै छौं ।’