विशेष महाधिवेशनको कुराले कांग्रेस फुट्न सक्ने शेखरको चेतावनी


–संसद् पुनःस्थापनाको पक्षमा बहुमत सदस्य पुग्ने दाबी
–एमाले अध्यक्षसँग खुलेर कुरा गर्न नेताहरूको सुझाव

काठमाडौं ।

विघठित प्र्र्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक किचलो र विवादका कारण बबन्डर मच्चिने क्रम जारी छ ।

एक महिनादेखि जारी कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशनका बारेमा निर्णय लिन नसक्दा कांग्रेस फुटको अवस्थामा समेत पुग्नसक्ने चेतावनी नेताहरूले दिएका छन् ।

पार्टीको १५ औं महाधिवेशन फागुन २१ गतेको चुनाव अघि कि पछि भन्नेमा निर्णय लिन नसकिरहेको अवस्थामा कांग्रेस नेता डा. शेखर कोइरालाले मंगलवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केन्द्रीय समिति बैठकमा सदस्यहरू महाधिवेशनबारे दुई धारमा बाँडिएका र विशेष महाधिवेशनको लागि हस्ताक्षर गर्ने बेलादेखि नै पार्टी विभाजनको रेखा कोरिएको भन्दै त्यसको समयमा नै व्यवस्थापन नगर्ने हो भने कांग्रेस फुट्न सक्ने चेतावनी दिनुभएको छ ।

नेता शेखरले हालको संकटकालीन अवस्थामा निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापना भन्नेमा समेत कांग्रेसले प्रष्ट दृष्टिकोण लिनुपर्ने बताउनुभएको छ । कांग्रेस यो विषयमा पनि अनिर्णित छ । तर, कांग्रेसले वर्तमान सरकार अलोकतान्त्रिक भएको र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको निष्कर्ष निकालेको थियो ।

नेपाली कांग्रेसभित्र निर्वाचनमा जानुपर्छ र प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्छ भन्ने दुई धार छ । यी धारका बीचमा नेताहरू विभक्त भएका छन् र निर्णय गर्न नसक्दा पार्टीभित्रै अन्यौल छ । नेता शेखरले आफू निर्वाचनको पक्षमा भए पनि केही केही निवर्तमान सांसदले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्नु उहाँहरूको अधिकारको कुरा भएको बताउनुभयो । संस्थापन र शेखर पक्षकै केही नेताले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरिरहेका छन् ।

सो हस्ताक्षरमा कांग्रेसका बहुमत सदस्यको संख्या जुटाएर केन्द्रीय समितिका बुझाउने दाबी उनीहरूले गरेका छन् । स्रोतका अनुसार शेखरले पनि आफ्ना निकटस्थहरूसँग पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाको मागलाई राजनीतिक मुद्दा बनाउने हो भने सोअनुसार अघि बढ्नुपर्ने र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने बताएका छन् । यस विषयमा उहाँले पार्टीले गर्ने निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ ।

‘अहिलेको संसद्ले म्यान्डेट गुमाएको थियो भने आन्दोलनलाई बोक्ने हो । म्यान्डेट गुमाएको हो कि होइन ?,’ शेखरले प्रश्न गर्दै भन्नुभयो ‘म्यान्डेट गुमाएको हो भने नयाँ म्यान्डेटमा जान किन खुट्टा कमाउने ? अन्यथा संसद् पुनःस्थापनाको माग गरिरहेको एमालेका अध्यक्षसँग खुला संवाद गरे हुन्छ ।