उत्तरी जापानमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


टोकियो ।

आइतबार साँझ उत्तरी जापानको तटीय क्षेत्रमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पपछि परकम्पहरू महसुस भएका छन् र तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

स्थानीय समय अनुसार साँझ करिब ५ बजे इवाते प्रान्तको तटबाट १० किलोमिटर समुन्द्र सतहमुनि केन्द्रविन्दु बनाएर भूकम्प गएको एजेन्सीले जनाएको छ । प्रारम्भिक विवरण अनुसार उत्तरी तटीय क्षेत्रमा १ मिटर (करिब ३ फिट) अग्लो सुनामी आउन सक्ने सम्भावना रहेकाले सर्वसाधारणलाई तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ ।

हालसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । त्यस्तै, उक्त क्षेत्रमा रहेका दुई आणविक ऊर्जा प्लान्टहरूमा पनि कुनै असामान्य गतिविधि नदेखिएको जनाइएको छ ।

सार्वजनिक प्रसारक एनएचकेका अनुसार इवाते प्रान्तका ओफुनाटो, ओमिनाटो बन्दरगाह, मियाको र कामाईशी क्षेत्रमा करिब १० सेन्टिमिटर (४ इन्च) अग्लो सुनामीको लहर मापन गरिएको छ, जुन पछि कुजीको तटीय क्षेत्रमा २० सेन्टिमिटर (८ इन्च) सम्म पुगेको थियो ।

जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि आउने परकम्प र थप सुनामीका लहरहरू केही घण्टासम्म जारी रहन सक्ने चेतावनी दिंदै जनतालाई सतर्क रहन आग्रह गरेको छ ।