अमेरिका शटडाउन : विमानस्थलहरूमा अव्यवस्था, हजारौं उडान ढिलाइ र रद्द


वासिङ्टन डीसी ।

अमेरिकामा कंग्रेसको बजेट सहमति नजुट्दा सरकार आंशिक रूपमा बन्द (शटडाउन) भएको छ । रिपब्लिकन र डेमोक्रेट सांसदहरूबीच खर्च विधेयक पारित गर्ने विषयमा सहमति हुन नसकेपछि यो वर्षको अक्टोबर १ देखि अमेरिकामा शटडाउनको अवस्था सिर्जना भएको हो ।

शटडाउनका कारण अत्यावश्यक बाहेकका सबै सरकारी सेवा ठप्प छन् । संघीय निकायमा कार्यरत लाखौं कर्मचारी तलबबिना घरमै बस्न बाध्य भएका छन् भने केही अत्यावश्यक सेवामा रहेका कर्मचारी तलब बिना काम गरिरहेका छन् ।

हवाई यातायात क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ । ट्राफिक कन्ट्रोलरको अभाव र संघीय उड्डयन प्रशासन (एफएए) मा जनशक्ति कमी भएपछि देशभरका विमानस्थलहरूमा उडान ढिलाइ र रद्द हुने क्रम तीव्र बनेको छ । शनिवार मात्र अमेरिकाभर १ हजार ४०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ६ हजार उडान ढिलाइ भएका छन् ।

फ्लाइट ट्र्याकरका अनुसार शुक्रबार पनि झन्डै ७ हजार उडान समयमा उड्न सकेका थिएनन् । लगातारको ढिलाइले यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । कतिपय विमानस्थलहरूमा यात्रु भीड बढेपछि सुरक्षाकर्मी र व्यवस्थापनमा समस्या आएको समाचारमा जनाइएको छ ।

संघीय उड्डयन प्रशासनले हवाई ट्राफिक नियन्त्रकहरूको अभावलाई ध्यानमा राख्दै देशका ४० व्यस्त विमानस्थलमा उडान क्षमता १० प्रतिशतले घटाउने घोषणा गरेको छ । एफएएका अनुसार हाल सयौं हवाई ट्राफिक नियन्त्रकहरूले तलब नपाउँदा बिरामी बिदामा बसेका वा अन्यत्र काम गर्न थालेका छन्, जसले उडान सञ्चालनमा गम्भीर असर पारेको छ ।

विश्लेषकहरूका अनुसार यदि निकट भविष्यमा बजेट सम्झौता हुन सकेन भने अमेरिकी अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव पर्ने चेतावनी दिइएको छ । शटडाउन लामो समयसम्म कायम रहँदा संघीय निकायका सेवा, परियोजना र कर्मचारी भुक्तानी सबै प्रभावित हुने बताइएको छ ।

कंग्रेसमा रिपब्लिकन र डेमोक्रेटबीच खर्च घटाउने र प्राथमिकता निर्धारण गर्ने विषयमा विवाद समाधान नभएसम्म यो संकट अन्त्य हुने कुनै संकेत देखिएको छैन । यात्रुहरू भने तत्काल उडान सेवा सहज बनाउन सरकार र संसदलाई शीघ्र सहमति गर्न आग्रह गरिरहेका छन् ।