चलचित्र पत्रकार संघ नेपालले शुक्रबार राजधानीमा चलचित्र पत्रकार (इतिहासदेखि वर्तमानसम्म) नामक पुस्तक सार्वजनिक गरेको छ। नेपाली फिल्म पत्रकारिताको प्रारम्भदेखि वर्तमानसम्मको इतिहास, विकासक्रम, अवस्थाको विश्लेषण र चित्रण गरिएको बृहत् पुस्तक चाबहिल सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको हलमा आयोजना गरिएको विशेष समारोहबीच सार्वजनिक गरिएको हो।
चलचित्र बोर्डको सहयोगमा तयार भएको पुस्तकलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, संघका पूर्वअध्यक्ष विदुर गिरी र शान्तिप्रिय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, कलाकार केदार घिमिरे, साहित्यकार डा. नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायतले सामूहिक रूपमा सार्वजनिक गरे।
बोर्ड अध्यक्ष डिसीले नेपाली चलचित्रको विकासक्रममा फिल्म पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै फिल्म पत्रकारितामा खोजी पत्रकारिता बढ्नुपर्ने सुझाव दिए। संघका केन्द्रीय अध्यक्ष बलामीले फिल्म पत्रकारितालाई शुद्धीकरण, व्यावसायिकता र नया“ पुस्तालाई सक्षम र सक्रिय बनाउन संघ लागि परेको बताए। उनले पुस्तकको व्यक्तिगत मूल्य १ हजार र संस्थागत मूल्य २५ सय राखिएको र पुस्तक विक्रीबाट संकलित रकम संघको फिल्म पत्रकार कल्याण कोषमा जम्मा गरिने जानकारी गराए।
पुस्तकमा डा. नवराज लम्साल, विदुर गिरी, शान्तिप्रिय, विजयरत्न तुलाधर, प्रकाश सिलवाल, ध्रुव लम्साल, समिर बलामी, प्रकाश सायमी, रघुनाथ सापकोटा, दीपज्योति थापा, जीवन पराजुली, मनोज न्यौपाने, विजय नेपाल, नरेन्द्र बस्नेत, प्रभु अधिकारी, श्रीराम अर्जुन, सन्तोष केसी, मोहन न्यौपाने, विनोद विश्वकर्मा, रामचन्द्र पौडेल र सूर्य शुभचिन्तकका विभिन्न विषयका लेख छन्। यसबाहेक फिल्म पत्रकारितासम्बन्धी विविध जानकारी र संघका गतिविधि पनि समेटिएको छ।
सो अवसरमा फिल्म पत्रकारितामा खोजी पत्रकारिता विषयक अन्तरक्रियासमेत गरिएको थियो। अन्तरक्रियामा बोर्ड अध्यक्ष डिसी, कलाकार संघका अध्यक्ष निरौला, पत्रकार शान्तिप्रिय, धु्रव लम्साल, मदन रिजाल र रघुनाथ सापकोटाले सहभागिता जनाएका थिए। वक्ताहरूले हाल फिल्म पत्रकारितामा मेहनत र गहिराइ घट्दै गएको, अधिकांश माध्यममा समान प्रकृतिका सामग्री बढी देखिन थालेको प्रति चिन्ता व्यक्त गर्दै पत्रकारिताको सिद्धान्तअनुसार स्वतन्त्र, खोजमुखी र तथ्यमा आधारित रिपोर्टिङ आवश्यक रहेकामा जोड दिए। साथै, अन्य क्षेत्रमा जस्तै फिल्म पत्रकारितामा देखा परेका विकृतिलाई हटाउ“दै अघि बढ्नुपर्ने निचोड राखिएको थियो।











प्रतिक्रिया