भिटामिन ‘ए’ अभियानकै क्रममा बालिकाको मृत्यु

औषधि वितरणमा सावधानीबारे पुनर्विचार गर्नुपर्ने संकेत


काठमाडौं।

दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने क्रममा जुकाको औषधि अडकिएर १८ महिनाकी बालिका जमुना यादवको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाले खुवाएको जुकाको औषधि घाँटीमा अड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीय नागरिकले घटनालाई असामान्य दुर्घटनाको रूपमा लिएका छन् । यसले बालबालिकालाई औषधि खुवाउँदा सावधानी र सीपको कमी कत्तिको संवेदनशील हुनसक्छ भन्ने प्रश्न उठाएको छ। शवको पोस्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको र परिवारलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।

नेपालमा भिटामिन ‘ए’ वितरण अभियान सन् १९९३ देखि सञ्चालनमा आएको हो। प्रारम्भमा कर्णाली क्षेत्रका केही जिल्लामा सुरु भएको यो अभियानले हाल देशभरका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई वर्षमा दुईपटक भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गर्दै आएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार यस अभियानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउने, भोक र रक्तअल्पता घटाउने, तथा बालमृत्युदर घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

तर, ग्रामीण क्षेत्रमा स्वास्थ्य स्वयंसेविकालाई दिइने तालिम, औषधि खुवाउने तरिका, र अभिभावकको सहभागितामा अझ सुधार आवश्यक रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ।

दुःखद घटनाबाट सिक्नुपर्ने पाठ

विशेषगरी स–सानाबालबालिकालाई जुकाको औषधि (जस्तै एल्बेन्डाजोल वा मेबेन्डाजोल) खुवाउँदा औषधि ठूला ट्याब्लेट स्वरूपमा हुने भएकाले निल्न गाह्रो हुने जोखिम रहन्छ।

गत वर्ष पनि सिन्धुपाल्चोक र सप्तरीमा यस्तै प्रकृतिका घटना दर्ता भएका थिए, जसमा बालबालिकाले औषधि निल्दा सासफेर्न गाह्रो हुने र घाँटीमा अड्किनुका कारण आकस्मिक स्वास्थ्य समस्या देखिएको थियो।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार, १ देखि ३ वर्षसम्मका बालबालिकालाई औषधि पानीमा घोलेर वा पिसेर खुवाउनुपर्नेमा ध्यान नदिँदा दुर्घटनाको सम्भावना बढ्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता दुःखद घटना पुनः नदोहरिने गरी निम्न बुँदामा तत्काल ध्यान दिनु आवश्यक छः

स्वास्थ्य स्वयंसेविकाको पुनःतालिम: साना बालबालिकालाई औषधि खुवाउने सही तरिका र जोखिम चिन्ने सीपमा विशेष तालिम दिनु। स सानाबालबालिकाका लागि ट्याब्लेटका सट्टा सिरप वा चुईबल ट्याब्लेट प्रयोग गर्न सक्ने विकल्प खोज्नु।

औषधि खुवाउँदा आमाबाबु वा अभिभावक उपस्थित रहेर सहयोग गर्ने व्यवस्था गर्नुपर्छ।

औषधि वितरण केन्द्रमा आकस्मिक उपचार (जस्तै सिपिआर र चोकिड. व्यवस्थापन ) का लागि प्राथमिक स्वास्थ्य सामग्री र तालिम उपलब्ध गराउनुपर्ने।
सुरक्षित जनस्वास्थ्य अभियानमा विश्वास कायम राख्ने रणनीति बनाउनुपर्छ ।यस्ता घटनाले खोप र औषधि अभियानप्रतिको जनविश्वासमा नकारात्मक असर पार्न सक्ने भएकाले सरकार र स्वास्थ्य मन्त्रालयले तुरुन्त पारदर्शी जानकारी र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।

भिटामिन ‘ए’ र जुकाको औषधि अभियानले नेपालका लाखौं बालबालिकाको स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउँदै आएको तथ्य निर्विवाद छ। तर गढवाको यो दुःखद घटनाले औषधि खुवाउने प्रक्रियामा सुरक्षा, सीप र निगरानीको आवश्यकता अझ तीव्र भएको संकेत दिएको छ।

स्वास्थ्य सेवा जनजीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले स–साना कमजोरीले पनि ठूलो त्रासदी निम्त्याउन सक्छ—त्यसैले अबको अभियान “जीवनरक्षक मात्र होइन, सुरक्षित पनि होस्” भन्ने प्रतिवद्धतासहित अघि बढाउनुपर्ने देखिन्छ।