स्थानीय निकायसँग १८ बुँदे सम्झौता : सबै माग पूरा गरेको कामपाको जिकिर

940
Shares

-१५ दिनको अल्टिमेटम पुरा गर्न धमाधम काम

-५ सदस्यीय अनुगमन समिति गठन

– सरकारको सक्रियता बढ्यो धमाधम बत्ती जडान

-१८ बुँदे माग पुरा गर्न प्रभाबितको दावाव

काठमाडौं।

काठमाडौं महानगरपालिका र दुई स्थानीय निकायबीच भएको चार्चित १८ बुँदे सम्झौतामा कामपाको तर्फबाट सरकारको अधिकार क्षेत्रबाहेक सबै माग पूरा भएको स्पष्ट पारेको छ । कामपा, धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच ०७९ जेठ २८ गते सम्झौता भएको थियो । कामपाका मेयर बालेन्द्र साह मेयर निर्वाचित भएलगत्तै स्थानीयको बाचा पूरा गर्न १८ बँुदे सम्झौता भएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले सरकारले गर्नेबाहेक सबै माग पूरा भएको जिकिर गर्नुभयो । करिब एक साताअघि स्थानीयको अवरोधको कारण तीनदिन फोहोर ढुवानी बन्द भएको थियो । त्यसबेला मेयर साह र स्थानीयबीच भएको प्रतिबद्धता खोजी भएको थियो । सोही प्रतिबद्धता पूरा गर्न दबाब दिँदै फोहोर ढुवानी बन्द गरेका थिए ।

सहरी विकासमन्त्री कुलमान घिसिङले कामपासँग भएका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको थियो । फोहोर व्यवस्थापन दीर्घकालीन अन्त्य र अनुगमन गर्न सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलको संयोजकत्वमा धुनिबेसी नगरपालिकाका प्रमुख, ककनी गाउँपालिकाका अध्यक्ष र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेको फोहोरमैला व्यवस्थापन समन्वय एवं सहजीकरण समिति गठन भएको थियो । समितिको सदस्यसचिवमा मन्त्रालयका सहसचिव रहेका छन् ।

समितिले कामपा र तीन निकायबीच भएको १८ बुँदे सम्झौता कार्यान्वयन गर्न लगातार बैठक जारी राखेको छ । बैठकमा कामपाले स्थानीय निकायसँग भएका अधिकांश माग पूरा कार्यान्वयन भएको र कुनै लगातार प्रक्रियागत रूपमा भइरहेको जनाएको थियो ।

बैठकमा काठमाडौं उपत्यकाबाट बञ्चरे डाँडा कुँडुलेसम्म फोहोर दीर्घकालीन रूपमा रातीको समयमा फोहोर ढुवानी गर्ने कार्य पूरा हुन नसकेको विषय प्रवेश गरेको थियो । उक्त माग पूरा गर्ने विषयमा मन्त्रालयले बत्ती जडान सुरु गरेको छ । बत्ती जडान भएपछि अब रात्रिकालीन फोहोर ढुवानी सुरु हुने भएको छ ।
कामपाले बुझाएको प्रतिवेदनमा मुख्य सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढाएको उल्लेख गरेको छ । ल्यान्डफिल साइट जाने मुख्य सडकमा सोलार बत्ती जडान गर्न बोलपत्रको सूचना प्रकाशन गरिएको, फोहोरको दुर्गन्ध नआउने गरी सूक्ष्म जीव छर्ने काम नियमित भइरहेको जनाएको छ ।

कामपाले दुई महिनाभित्र लिचेड व्यवस्थापन गर्ने, लिचेट ट्रिटमेन्ट प्लान्ट स्थापना गर्न चालू आवमा ३ करोड बजेट विनियोजन भएको, फोहोर ढुवानी गाडीबाट बाटोमा लिचेड नचुहिने व्यवस्था गर्न सवारीसाधनमा लिचेड ट्याङ्की राख्ने व्यवस्था गरेको उल्लेख छ । विभागीय प्रमुख राईले सबै काम नियमित प्रक्रियाअन्तर्गत लगातार भइरहेको जानकारी दिनुभयो ।

फोहोरमैला व्यवस्थापनमा संलग्न चालक तथा सहचालक तथा अन्य कर्मचारीहरूको महानगरपालिकाले स्वास्थ्य बिमा गरेको जनाएको छ । कडा रोग लागेका प्रभावित क्षेत्रका बासिन्दालाई कामपाका कर्मचारीले पाएसरह उपलब्ध गराउने भएको छ । उक्त प्रतिबद्धता कार्यान्वयन गर्न स्थानीय निकायलाई पत्राचार गरेको, सफाइ कर्मचारीहरूको उपचार निजामती अस्पतालमा व्यवस्था गरेको छ ।

स्थानीयको स्वास्थ्य बिमाको गर्न स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भई कार्यान्वयन भइरहेको, प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराई सोको योगदान रकम कामपाले स्वास्थ्य बिमा बोर्डलाई निकासा गर्ने गरेको कामपाले जनाएको छ ।

स्वाथ्य विमाबापत चालू आवमा १ करोड ५० लाख विनियोजन भएको थियो । त्यसमध्ये हालसम्म १ करोड ३० लाख स्वास्थ्य बिमाबापतको योगदान रकम भुक्तानी गरिएको, फोहोरमैला प्रभावित क्षेत्रमा कडा रोग लागेका विपन्न स्थानीयहरूलाई १ लाखका दरले आर्थिक सहायता दिइरहेको जनाएको छ ।

प्रभावित क्षेत्रको शिक्षा गुणस्तर वृद्धि गर्न ०७९÷८० बाट बजेट ल्यान्डफिल साइट प्रभावित क्षेत्रका विद्यालयहरूमा शिक्षक अनुदान उपलब्ध गराएको उल्लेख छ । त्यसअन्तर्गत ककनी गाउँपालिकमा कार्यरत २८ शिक्षकको तलबभत्ता उपलब्ध गराएको छ । चालू आबबाट धुनिबेसी नगरपालिकालाई समेत समेट्ने गरी ३ करोड १० लाख बजेट बिनियोजन भएको छ ।

त्यसै गरी चालू आबको बजेटमा प्रभावित क्षेत्र तथा अन्य विद्यार्थीहरूलाई क्षतिपूर्तिस्वरूप छात्रवृत्ति शीर्षकमा रकम विनियोजित भएको, तीन पिप्लेदेखि बञ्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको जग्गाको लगत कायम गर्न पहल गर्ने जनाएको छ । विभाग प्रमुख राईले कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने अधिकांश प्रतिबद्धता पूरा गरेको र गर्न बाँकी क्रमैसँग पूरा हुँदै जाने जिकिर गर्नुभयो ।

यसैबीच काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न ५ वर्षमा १ अर्ब ५३ करोड रुपियाँ खर्च गरेको जनाएको छ । यो आर्थिक वर्ष ०७८÷०७९ देखि चालू आवसम्मको हो । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले ५ वर्षमा साइट निर्माण, बाटो निर्माण, मुुआब्जा वितरण, क्षतिपूर्ति, शिक्षा, स्वास्थ र रोजगारको क्षेत्रमा १ अर्ब ५३ करोड २५ लाख ५३ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो ।