लमजुङ।
गत साताको लगातार झरीले लमजुङका किसानको पसिनाले सिञ्चित खेतमा ठूलो नोक्सान पु¥याएको छ । कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाभर तिन सय १२ दशमलव पाँच हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षतिग्रस्त भएको पाइएको छ । यो जिल्लाको कुल धानखेती क्षेत्रफलको झन्डै तीन दशमलव ४७ प्रतिशत हो ।
सबैभन्दा बढी क्षति मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकामा पुगेको बताइएको छ । मध्यनेपालमा करिब १७ सय, राइनासमा १७ सय र सुन्दरबजारमा १५ सय रोपनी खेतमा लगाइएको धानमा झरीले प्रत्यक्ष असर गरेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जानकारी दिए ।
त्यस्तै, बेसीशहर नगरपालिकामा ६ सय, मर्स्याङदी गाउँपालिकामा ३ सय, दोर्दी गाउँपालिकामा दुइ सय ५० र क्होलासोथार र दुधपोखरी गाउँपालिकामा करिब एक-एक सय रोपनी धानबाली क्षतिग्रस्त भएको पनि उनले बताए ।
गत साताको बंगालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातका कारण लगातार झरी परेपछि काटिसकेको धान खेतमै डुबानमा परेको थियो । कृषि ज्ञान केन्द्रले आठवटै पालिकाका कृषि शाखामार्फत क्षतिको विवरण संकलन गरिसकेको छ तर राहतका उपायबारे अहिलेसम्म स्पष्ट निर्णय हुन बाँकी छ । केन्द्रका अनुसार विवरण प्रदेश वा संघ सरकारमा पठाइसकिएको र त्यहाँबाट राहतको सम्भावना रहनेछ ।
सामान्यतया मंसिर महिनामा धान थन्काउने चलन भए पनि हाल उन्नत र बर्णशंकर जातका धान छिटो पाक्ने भएकाले समयमै भित्र्याउन नपाउँदा झरीले नोक्सान बढाएको प्राविधिकहरुले बताएका छन् ।











प्रतिक्रिया