सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु


बनेपा । 

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेशिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाईको शुभारम्भ गरे ।

सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइकाबाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाईको काम सुरु गरिएको बताए । उनले बर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ गरिएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने,“वर्षौदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिनहरु यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए । ठाउँ नै खण्डहर जस्तो भएको थियो । धुलो टकटक्याएर छपाइको काम थालेका हौँ ।”

उनका अनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भएपनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन ।

“अहिले हामीले निकै मेहेनत गरेर सरकारी प्रेसबाटै लाइसेन्छ छपाइ सुरु गरेका छौ”,सञ्चारमन्त्री खरेलले भने,“ २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाई सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ ।”

लाईसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधैँ विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था  र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाई सुरु गरिएको बताएका हुन् ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइको काम सुरु गरिएको जानकारी दिए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो ।

सुरुमा दैनिक पाँच सय  र यसको मात्रा बढाउदै लगिने केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्त शुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिषा स्टिकर छपाई गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झन्डै रु तीन अर्ब लगानी भएको छ ।