फरार भएका प्रतिवादी ४७ वर्षपछि पक्राउ

स्याङ्जा प्रहरीले एक सातामा १६ जनालाई पक्राउ गर्‍यो 

1.6k
Shares

स्याङ्जा। 

चोरीको घटनामा अदालतबाट दोषी ठहर भई जरिवाना तथा कैदको सजाय तोकिएका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १२ घुरुङ्खाका फरार प्रतिवादी गिरीप्रसाद गुरुङ ४७ वर्षपछि बिहीबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानाकारी अनुसार २०३५ साल बैशाख १५ गते राति स्याङ्जाको साबिक पेलाकोट गाउँपञ्चायत–२ कल्लेरी बस्ने दिलबहादुर राना मगरको घरबाट सुनका गहना र रेडीयो चोरी फरार रहेका गुरुङलाई प्रहरीले ४७ वर्षपछि पक्राउ गरेर जिल्ला अदालत स्याङ्जामा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले चोरीमा संलग्न रहेका गुरुङलाई जिल्ला अदालत स्याङ्जाले २०४५ साल मंसिर १६ गते दोषी रहेको ठहर गर्दै ४ हजार ५ सय जरीवानासहित १ महिना १५ दिन कैदको फैसला सुनाएको बताए । उनले कैदको सजाय सुनाइएका गुरुङ फरार रहेकोले बिहीबार उनलाई घट्नाको ४७ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको जनाउँदै बिहीबारनै अदालतमा बुझाइएको बताए । 

गत केही वर्षयता आएर जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार अपराधी पक्राउ गर्ने कुरामा ठुलो सफलता हात पार्दै आएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार गत कार्तिक १३ देखि २० गतेसम्म १ सातामा मात्र प्रहरीले १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ । विभिन्न अपराध गरेर फरार रहेका प्रतिवादीहरुलाई अदालतले सजाय तोके पनि उनिहरु फरार नै रहेकोले प्रहरीले उनिहरुलाई खोजेर अदालतमा बुझाउँदै आएको छ । 

प्रहरीले कार्तिक १३ गते कर्तव्य ज्यानमा फरार रहेका चापाकोट ५ का पर्वत खवासलाई पक्राउ गरेको जनाएको छ । यसैगरी १७ गते चोरीको घटनामा फरार गल्याङ ७ का लालबहादुर राना, सार्वजनिक अपराधमा फरार बिरुवा ४ का हिमाल गुरुङ र कर्तव्य ज्यानमा फरार रहेका हरिनाश ६ का ख्यामबहादुर रानालाई पक्राउ गरेको छ । यसैगरी १८ गते चोरीको घटनामा फरार रहेका पुतलीबजार ५ का सेती क्षेत्रीनी र जितबहादुर कार्की, डाँका घटनामा फरार फेदीखोला ४ का हर्कबहादुर गुरुङ र वालिङ १२ का डिलबहादुर गुरुङ, पशुपंक्षी सम्बन्धी कसुरका पुतलीबजार १२ का डम्बरबहादुर गुरुङ र बैंकिङ कसुरका गल्याङ ५ का शान्ति गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले २० गते थप ६ जनालाई पक्राउ गर्न सफल भएको छ । कुटपिटमा जेल सजाय तोकिएका बिरुवा ४ का थमप्रसाद पोख्रेल, चोरी घटनामा दोषी भीरकोट २ का इउब बहादुर राना, कर्तब्य ज्यानका फरार भीरकोट ७ का दलबहादुर गोदार र चापाकोट ८ का गणेशबहादुर कुमाल र डाँकामा संलग्न रही फरार वालिङ १२ का हरीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । यसैगरी सोही अवधिमा प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ६ वटा टयाक्टरलाई नियन्त्रणमा लिएको छ । पुतलीबजार ३ बाट ४ वटा र भीरकोट ७ बलमाटाबाट २ वटा टयाक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कार्तिक १६ गते अवैध रुपमा ओसारपसार गरेको १३ कार्टुन खैनी समेत बरामद गरेको प्रहरीले जनाएको छ ।