आत्मघाती गोलले बार्सिलोनालाई अंक


लन्डन ।

बार्सिलोनाले बुधबार राति बेल्जियममा भएको च्याम्पियन्स लिगको खेलमा क्लब ब्रुगसँग ३–३ को बराबरी खेलेको छ ।
खेल सुरुदेखि अन्त्यसम्म नै रोमाञ्चक बनेको थियो । छैंठौं मिनेटमै घरेलु टोली बु्रगले अग्रता लिएको थियो । कार्लोस फोब्र्सले अफसाइड तोड्दै बल निकोलो ट्रेसोल्डीलाई पास गरे र उनले सहजै गोल गरे ।

तर बार्सिलोनाले तुरुन्तै गोल फर्कायो । आठौं मिनेटमा नै फर्मिन लोपेजको पासमा फेरेन टोरेसले गोल गर्दै खेललाई १–१ बराबरीमा पु¥याएका थिए । १७औं मिनेटमा ब्रुगले पुनः अग्रता लियो । फोब्र्सले काउन्टर आक्रमणमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे ।

पहिलो हाफमा बार्सिलोनाका जुल्स कुनडे र एरिक गार्सियाका प्रहार पोस्टमा ठोक्कियो । ६१औं मिनेटमा लामिन यामालले फर्मिन लोपेजको ब्याक–हिल पासमा बल लिएर दुई डिफेन्डरबीचबाट बल अघि बढाउँदै बराबरी गोल गरे ।

तर त्यसको दुई मिनेटमै क्लब ब्रुगका फोब्र्सले फेरि गोल गर्दा ३–२ को अग्रता लिन सफल भयो । केही समयपछि रेफ्रीले ब्रुगलाई पेनाल्टी दिएको निर्णय गरे पनि भिएआर समीक्षापछि त्यो निर्णय उल्ट्याइयो ।

७७औं मिनेटमा बार्सिलोनाले फेरि गोल फर्कायो । यामालको क्रस ब्रगका क्रिस्टोस जोलिसको खुट्टामा ठोकिँदै आफ्नै पोस्टमा गयो र खेल ३–३ बराबरीमा पुग्यो । इन्जुरी समयमा रोमियो भर्मान्टले क्लब ब्रुगका लागि गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए । तर, भिएआर समीक्षापछि फाउल घोषित गर्दै उनको गोल अमान्य ठहराइयो । यो नतिजासँगै बार्सिलोना तालिकामा ११औं र ब्रुग २२औं स्थानमा छ ।

अर्को खेलमा इंग्लिस लिग क्लब म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुण्डलाई ४–१ ले पराजित गरेको छ । योसँगै जर्मन क्लब डर्टमुण्डको अपराजित यात्रा समाप्त पनि भयो । सिटीका लागि फिल फोडनले २, अर्लिङ हालान्ड र रायन चर्कीले समान १ गोल गरे । डर्टमुण्डका लागि वाल्डेमार एन्टनले सान्त्वना गोल गरेका थिए ।

इंग्लिस लिगकै क्लब न्युक्यासल युनाइटेडले पनि हात पारेको छ । न्युक्यासलले एथलेटिक्स क्लब बिल्बाओलाई २–० ले हराएको थियो । विजयी टोलीका लागि ड्यान बर्न र जोएलिन्टनले गोल गरे । जितसँगै चार खेलमा ९ अंक जोडेको न्युक्यासल छैटौं स्थानमा उक्लिएको छ । बिलबाओ समान खेलबाट तीन अंक लिएर २७औं स्थानमा छ ।

बुधबारै सम्पन्न अन्य खेलमा पाफोसले भियारियाल, एट्लान्टाले मार्से र लिभरकुसनले बेन्फिकालाई समान १–० ले हराए । यसैगरी इन्टर मिलानले काइरातलाई २–१ तथा गालातासारेले आयाक्सलाई ३–० ले पराजित गरे भने चेल्सी र काराबागले २–२ को बराबरी खेले ।